मोहन बस्नेतले स्व.प्रेम आचार्यकी पत्नीलाई रोजगारी र २ सन्तानलाई शिक्षा दिने, गृहमन्त्री चुपचाप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’का दुई बच्चालाई निःशुल्क उच्च शिक्षा र नाकुका अधिकारीलाई रोजगारी दिने घोषणा गरेका छन् ।
बिहीबार प्रेस नोट जारी गरेर पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले प्रेमप्रसाद आचार्यका टुहुरा दुई छोरीहरूको पठन–पाठन र उनकी श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका हुन् ।
उनले स्व.प्रेम आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जलि र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
‘नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्य जीले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटनासंगै हामीलाई जनजीविकाका हरेक आयामहरूमा जिम्मेवार हुनको निमित्त सुसूचित गराउनु हो’, बस्नेतले भनेका छन् ।
‘अहिले म आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का विभिन्न विद्यालय लगायतका विभिन्न स्थलहरूमा वार्षिकोत्सब र ल्होछार विशेष कार्यक्रममा व्यस्तताका कारण स्वर्गीय आचार्यजीका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन सकिरहेको छैन’, उनले भनेका छन्, ‘काठमाडौं आउना साथ उहाँहरूलाई भेट्ने नै छु ।’
‘अहिले यस विज्ञप्तिमार्फत प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसको एक सिपाहीको हैसियतले स्व.प्रेमप्रसाद आचार्यजीको पारिवारिक परिदृष्य र देशको वर्तमान गृहमन्त्री रवि लामिछाने ज्यूले पीडित परिवार र आफन्तहरूसंगको भेटका क्रममा छोरीहरूको पठनपाठन सम्बन्धमा उहाँहरूका आग्रहलाई वेवास्था गर्नुभएको लाईभ भेटघाटको भिडियो सामाग्रीलाई मध्यनजर गर्दै उहाँका छोरीहरूको पठनपाठन र श्रीमती सानुका अधिकारीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्दछु’, नेता बस्नेतले भनेका छन् ।
‘जहाँ पीडा हुन्छ, जहाँ दुःख पर्छ, जहाँ आपत्ति र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरूलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचानसंगै बाल्यकालदेखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो, भूकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरू लगायत ३२ वर्षको निःशुल्क कोचिङ कक्षा संचालनको ईतिहाँसलाई साँक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दुःखको घडीमा सहयोगका खातिर टुहुरा छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु’, नेता बस्नेतले भनेका छन् ।
यसअघि, उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’का परिवारलाई भेटेका थिए ।
मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।
स्व.आचार्यकी पत्नी सानुका अधिकारीले गृहमन्त्री लामिछानेसँग रोजगारीको व्यवस्था र दुई छोरीहरूको शिक्षाका लागि माग गरेकी थिइन् । तर, लामिछानेले उनको मागलाई बेवास्ता गरेका थिए ।
लामिछानेले आफ्ना अभिव्यक्तिमा जनतालाई समस्या परेमा आफूलाई भेट्न आउन भनेका थिए । र, आफूले सहयोग गर्ने जनाएका थिए । तर, गृहमन्त्री लामिछानेले सानुका अधिकारीका माग सुनुवाई गर्ने कुरै गरेनन् ।
लामिछाने मिडियाबाजी गर्न निकै माहिर मानिन्छन् । उनी फण्डा गरेरै जनतालाई बेकुव बनाइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया