प्रहरीमा रोकिएको एफपियु मिसनलाई निरन्तरता दिने तयारी भइरहेको छ : आईजीपी सिंह

भरतपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भरतपुरमा रहेको प्रहरीको शिक्षालयको अनुगमन तथा निरीक्षण भ्रमण गरेका छन् ।

शुक्रबार आईजीपी सिंहले प्रशिक्षार्थीको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, एमआई रूम, लाइब्रेरी लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गरेका हुन् ।

सिंहले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीलाई निर्देशन समेत दिएका छन् ।

आईजीपी सिंहले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमूना हुन जरुरी रहेको बताएका छन् ।

भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थीप्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रशिक्षार्थीको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकोले शिक्षालयका निर्देशक लगायत समग्र टिमलाई तालिमलाई थप प्रभावकारी र समय–सापेक्ष कसरी बनाउन सकिने सिंहले बताएका छन् ।

सिंहले तालिम सञ्चालन पद्दतिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्वपूर्ण विषयलाई सम्बोधन गरी लागू भएको ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९’ मा आधारित रही प्रशिक्षण गतिविधिहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रहरीमा विगत केही समयदेखि रोकिएको एफपियु मिसनलाई पुनः निरन्तरता दिन संगठनले आवश्यक तयारी गरिरहेको उनले बताएका छन् ।

सो अवसरमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले धन्यवाद ज्ञापन गरेका छन् ।

उनले सीमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गराएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धीकरण र सुदृढीकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको बताए ।

उनले शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा अवगत गराएका थिए ।

शिक्षालयका उपनिर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

Published : Saturday, 2023 January 7, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया