कला, सँस्कृतिको संरक्षणमा सहयोग गर्छु, आवाज उठाउँछु : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीले केही गर्छु भन्ने भावना र सपना सबैले देख्नुपर्ने बताएका छन् ।
कांग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघले शुक्रबार अनामनगरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले सबैलाई अवसर दिनुपर्ने बताए । उनले मानिसले अवसर पायो भने मात्रै क्षमता बाहिर ल्याउन सक्ने बताएका छन् ।
नेता चौधरीले केही गरौँ भनेर सपना देखिने गरेको बताउँदै त्यसलाई अवसरका रुपमा लिनुपर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य चौधरीले आफू पनि कलाकार भएको बताएका छन् । उनले आफू फिल्म निर्माता भएको उल्लेख गरे ।
आफू सांसद भएका कारण कला, सँस्कृति, चलचित्रलगायतको विकासका लागि भूमिका खेल्ने आश्वासन दिएका छन् । आफूले बोलेको कुरा पूरा गर्दै आएको बताएका नेता चौधरीले गीत, सँगीत, कला, सँस्कृति र चलचित्रको क्षेत्रमा सहयोग गर्ने बताए ।
कांग्रेसका युवा नेता एवम् लुम्बिनी प्रदेशका सांसद रोज राणाले गालीगलौजको राजनीति नगर्न सबैलाई सुझाव दिएका छन् ।
उनले एकले अर्काको सम्मान गर्न सके मात्रै राजनीतिमा सुधार हुने बताए । उनले आफू चलचित्र क्षेत्रको व्यक्ति भएको भन्दै कला, सँस्कृति, गीत, सँगीतको संरक्षणमा सक्दो सहयोग गर्ने आश्वासन दिए ।
बागमती प्रदेश सभाका सांसद मधुकुमार श्रेष्ठ, कर्णाली प्रदेश सभाका सांसद बेदराज सिंह, गण्डकी प्रदेश सभाकी सांसद टीका बस्यालले पनि कला, सँस्कृतिक संरक्षणमा योगदान गर्ने बताएका छन् ।
संघका सभापति तीर्थ थापाले कांग्रेसले कला, गीत, सँगीत, चलचित्र लगायतको क्षेत्रमा रहेका व्यक्तिलाई पनि अवसर दिएको भन्दै धन्यावाद दिएका छन् ।
उनले आगामी दिनमा कला, सँस्कृति, चलचित्र क्षेत्रको समस्या समाधानमा सहयोग हुने आफूले विश्वास लिएको बताएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरी (नवलपरासी– १), रोज राणा (प्यूठान), मधुकुमार श्रेष्ठ (धादिङ), बेदराज सिंह (जाजरकोट), टीका बस्याल (लमजुङ)लाई सम्मान गरिएको थियो ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया