माओवादीका हाईलेबलका नेताको नाम जोडिएका विवादित व्यापारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पृथ्वी शाहलाई पक्राउ गरेको छ ।

माओवादी केन्द्रका नेता एवम् निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निकटका व्यवसायी शाहलाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ परेका शाह अछाम स्थायी घर भएका युवा हुन् ।

शाहले नेपालमा कम्पनी खडा गरेर अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा शाहलाई पक्राउ गरेको हो ।

शाहसहित उनका साझेदार र सहयोगी अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चाबहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद पनि पक्राउ परेका छन् ।

पक्राउ परेका ६ जनालाई सीआईबीले शुक्रबार अदालतबाट ६ दिनको म्याद लिइसकेको छ ।

सीआईबीका प्रमुख (एआईजी) उत्तमराज सुवेदीले शाहमाथि विदेशबाट शंकास्पदरुपमा रकम भित्र्याएको कसूरमा अनुसन्धान शुरु भएको बताएका छन् ।

शाह शंकास्पद रुपमा भारतीय नोटको गैरकानूनी कारोबारको कसूरमा साढे ४ वर्षअघि पक्राउ परेका थिए ।

शाहलाई भारु र डलरको शंकास्पद कारोबारमा संलग्न रहेको आरोप छ ।

तत्कालीन अर्थमन्त्री शर्माको संरक्षणमा शाहले ६५ करोडको शंकास्पद कारोबार गरेको आरोप छ ।

राष्ट्र बैंकको समेत पत्रका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले मुख्य आरोपित शाह र अन्य ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

नेपालमा संगठित गिरोह बनाई प्रतिबन्धित भारु भित्र्याएको आरोपमा सीआईबीले २०७४ जेठ २ गते १५ जनालाई पक्राउ गरेको थियो ।

घटनामा प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएपछि गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपियाँ बरामद भएको थियो ।

जेठ ३ गते तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको थियो ।

त्यस बेला प्रहरीले नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थियो ।

त्यस बेला ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको कारोबार गर्न कम्पनी खोलेको बताउने गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहले ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६१ करोड ३३ लाख ७९ हजार २८४ रुपियाँ), १२ हजार ८२५ पाउण्ड स्टर्लिङ डलर (हालको विनिमय दर अनुसार २० लाख ४३ हजार ५३५ रुपियाँ) र ३ करोड २२ लाख २८ हजार ६८० रुपियाँ शंकास्पद कारोबार गरेका हुन् ।

राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ ।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम आएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो ।

Published : Friday, 2023 January 6, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया