अवैध लागूऔषध काण्डमा दाङका ३ जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा प्रहरीले लागुऔषध काण्डमा तीन जनालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब १५ केजीसहित ३ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा रुकुमको काक्री गाउँपालिका–९ घर भएकी हाल दाङको तुल्सीपुर उप–महानगरपालिका–१७ मानपुर बस्ने ४३ वर्षीया आशाकुमारी बुढा लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ जाँदै गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

उता, कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ करिब २ ग्राम ६२ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउद र २७ वर्षीय रुपेश राना रहेका छन् ।

से.४ प ९५०३ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सर्लाहीको पर्सा गाउँपालिका–६ नेपाल–भारत बोर्डर दशगजाबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी ५ सय ग्राम सहित हरिपुर्वा नगरपालिका–९ बसतपुर बस्ने १९ वर्षीय विमलेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले स.७ प ९९१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

पर्साको ठोरी गाउँपालिका–२ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय ६३ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी बल बिओपी ठोरीबाट खटिएको संयुक्त टोलीले चितवन माडीबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख ६५५५ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा मिनी ट्रक सहित उक्त गाँजा बरामद गरेको छ ।

हाल फरार रहेका मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Published : Tuesday, 2022 December 13, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया