हारेको छैन, थाकेको छैन, होस् गुमाएको छैन : कांग्रेस नेता योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रतिनिधि सभाको समानुपातिकमा सांसद हुन नपाउँदैमा आफू पराजित नभएको जनाएका छन् ।

शनिबार नेता चौधरीले सामाजिक सञ्जालमार्फत समानुपातिकमा अन्तिम सिफारिसमा परेका सबैलाई शुभकामना र बधाइ दिएका छन् । उनले आफू कांग्रेसको संगठन निर्माणमा झन् उत्साहका साथ लाग्ने बताएका छन् ।

‘हारेको छैन थाकेको छैन होस् गुमाएको छैन’, उनले भनेका छन्, ‘निरन्तर जनताको सेवामा समर्पित हुनेछु ।’

नेता चौधरीले भनेका छन्, ‘जसले मलाई समानुपातिकबाट संघीय सांसद् नहोस् भन्ने कामना गर्नुभयो उहाँहरूको मनोकामना पूरा भएकोमा ती व्यक्तित्वहरूलाई बधाई छ ।’

‘जसले समानुपातिकबाट संघीय सांसद होस् भनेर कामना गर्नुभयो, माया र स्नेह प्रकट गर्नु, समानुपातिकमा मत दिनु भयो उहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन् ।

‘मप्रति सद्भाव, विश्वास, भरोसा गर्नुहुने सबै दाजुभाइ, दिदीबहिनी, आदरणीय नेताहरूमा फेरि पनि धन्यवाद दिँदै समानुपातिकबाट निर्वाचित हुनुभएका सबै माननीय ज्यूहरूलाई बधाइ एवम् कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

नेता चौधरी प्रतिनिधि सभाको थारुतर्फ समानुपातिकमा पहिलो स्थानमा थिए ।

कांग्रेसको भागमा ३२ समानुपातिक सांसद परेको थियो । त्यसमा २९ महिला र ३ पुरुषका लागि भाग परेपछि नेता चौधरीको नाम काटिएको छ ।

कांग्रेसले चाहेको भए विमलेन्द्र निधिको नाम काटेर चौधरीलाई समानुपातिक सांसदमा पठाउन सकिन्थ्यो । तर, पार्टीभित्रका केही पदाधिकारीहरू नकारात्मक भएका कारण चौधरीको नाम सिफारिस हुन सकेन ।

Published : Saturday, 2022 December 10, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया