शंकर पोखरेलकी बहिनी पनि सांसद बनिन्

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलकी बहिनी मेनका पोखरेल समानुपातिक सांसद बनेकी छिन् ।

शनिबार ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले खसआर्य महिलातर्फ मेनकालाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो ।

मेनका एमाले दाङको सह–ईञ्चार्ज र एमालेको केन्द्रीय सदस्य हुन् । घोराही उप–महानगरपालिका– १७ घर भएकी मेनकाले शिक्षण पेशाबाट राजीनामा दिएर आफ्नै दाई शंकर पोखरेल एमालेको महासचिव भएका बेला समानुपातिक सांसद बनेर भरपुर अवसर लिएकी छिन् ।

प्रतिनिधि सभाको निर्वाचनका बेला दाङ २ बाट पराजित भएका महासचिव पोखरेलले आफ्नी बहिनीलाई सांसद बनाइछाडेका छन् ।

पोखरेलले आफूलाई सहयोग गर्ने अरु धेरैलाई पनि टिकट दिलाएका थिए ।

यसैबीच, दाङकी आस्मा चौधरी पनि समानुपातिक सांसद बनेकी छिन् ।

घोराही उप–महानगरपालिका– ६ पक्वाई घर भएकी नेतृ चौधरी सामान्य परिवारकी हुन् । चौधरीको घरमा भूमिगतकालमा एमालेका नेताहरू लुकेर बस्ने गरेका थिए ।

Published : Saturday, 2022 December 10, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया