आईजीपी सिंहद्वारा ओखलढुंगा प्रहरीको भवनहरू उद्घाटन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको नवनिर्मित भवनहरूको उद्घाटन गरेका छन् ।

सोमबार सिंहले ओखलढुंगा प्रहरीको नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, व्यारेक तथा भान्साघरको उद्घाटन गरेका हुन् ।

महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गरेका छन् ।

सिंहले प्रहरी बस्ने आवास गृह, प्रहरी प्रशासन लगायत प्रहरी कार्य सम्पादन गर्न आवश्यक पर्ने भौतिक संरचना र प्रहरीले उपभोग गर्ने सेवा सुविधाहरूको उपलब्धता प्रत्यक्ष रुपमा प्रहरीको मनोवलसँग जोडिएको उल्लेख गरेका छन् ।

नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिने सिंहले बताएका छन् ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको आईजीपी सिंहले बताएका छन् ।

उनले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूविरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

व्यक्तिगत लाभभन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उनले निर्देशन दिएका छन् ।

स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा कानून विपरितका गतिविधि नियन्त्रण तथा व्यवस्थापन गरी समाजमा प्रभावकारी शान्ति, सुरक्षा र व्यवस्था कायम गर्न सकिने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मान गर्दै जन अपेक्षा अनुरूप प्रहरी कर्मचारीहरूले व्यावसायिक प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए ।

सिंहले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दीर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको उनले बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकाय तथा पदाधिकारीहरूसँगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको बताएका छन् ।

निर्वाचन सम्पन्न गराउन खटिएका समस्त सुरक्षा निकायका कर्मचारीहरू, निर्वाचन कर्मचारीहरू र सम्बन्धित निकायका पदाधिकारीप्रति विशेष धन्यवाद व्यक्त गर्दै सिंहले उनीहरूको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले आ–आफ्नो शुभकामना मन्तव्य व्राखेका थिए ।

१ नम्बर प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईन्जिनियर अनिल रानाले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन् ।

भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल १० करोड १० लाख ४४ हजार ९१ रूपियाँ ८१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Published : Monday, 2022 December 5, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया