कास्की कांग्रेसले अन्तर्घातीहरूलाई कारबाही गर्ने, माग्यो प्रतिवेदन

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ ।

बिहीबार कास्की कांग्रेसको बैठकले अन्तर्घातीहरूलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा पधादिकारी एवम् सदस्यहरूले पार्टीभित्र अन्तर्घात बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेताहरूले अन्तर्घातीहरूलाई हदैसम्मको कारबाहीको माग उठेको छ ।

अन्तर्घातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय कास्की कांग्रेसले गरेको छ ।

अन्तर्घात गर्नेको खोजी गरि कारबाही गर्न चर्को दबाबका बीच केही प्रमाणहरू प्राप्त भएका छन् ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने, ‘प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिनेछ ।’

पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापा र प्रकाश बरालसहित निर्वाचित सम्पूर्णमा कांग्रेसले बधाई ज्ञापन गरेको छ ।

कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीबिरुद्ध गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले नेताहरूको घर घेराउ गर्ने जस्ता कार्य नगर्न सचेत गराएको छ ।

बैठकले पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारहरू र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरूलाई समेटेर कांग्रेसको जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिएको छ ।

Published : Thursday, 2022 December 1, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया