झण्डै ९ हजारको अन्तरबाट रामहरि खतिवडाको जित, एमालेका यज्ञराजले दिए शुभकामना

काठमाडौं । ओखलढुंगामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई ६८१८ मतले पराजित गरेका छन् ।

बुधबार दिउँसो निर्वाचन कार्यालय ओखलढुंगाद्वारा दिइएको जानकारीअनुसार खतिवडाले ३३ हजार ५ सय ५६ मतसहित जित हातपारेका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएर पराजित भएका छन् ।

निर्वाचन कार्यालयले अन्तिम परिणाम घोषणा गरेपछि एमालेका पराजित उम्मेदवार यज्ञराज सुनुवारले विजयी भएका रामहरि खतिवडालाई टीका र फूलमालाले बधाई दिएका थिए । सुनुवारले खतिवडालाई कार्यकालको शुभकामना दिए ।

जवाफमा खतिवडाले आफूलाई मतदान गरेर विजयी बनाउने मतदाता र शुभेच्छुक तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति अभार प्रकट गरे । उनले मतदाताहरूले आफूप्रति गरेको विश्वासलाई कदापि घात नगर्ने बताएका छन् ।

खतिवडाले सुनुवारलाई पनि धन्यावाद दिएका छन् । खतिवडाले भने, ‘मलाई विजयी बनाउन यज्ञराज सुनुवारजीले ५ वर्षसम्म सहयोग गर्नुभएकोमा धन्यावाद ।’

ओखलढुङ्गामा प्रदेश सभा १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।

प्रदेश सभा २ मा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार प्रदीप सुनुवारले १४ हजार ९ सय १६ मत ल्याएर विजयी भएका छन् ।

प्रदीप सुनुवारसँग एमालेका उम्मेदवार एवम् प्रदेश नं. १ का मन्त्री अम्बिरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएर पराजित भएका छन् ।

प्रदेश सभा २ मा माओवादीका गौतम १५ हजार ७ सय ३८ मतसहित निर्वाचित भएका छन् ।

एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६ सय ४० मत ल्याएर पराजित भएका छन् ।

Published : Wednesday, 2022 November 23, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया