टीकाभैरव र लेलेलाई थानकोट-नारायणगढ जस्तै व्यापारिक नाका बनाउन सकिन्छ : कांग्रेस नेता राणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले ललितपुरको कान्ति–लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नु परेको बताएका छन् ।
ललितपुर–१ मा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका नेता राणाले टीकाभैरवमा मंगलबार आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा २०७४ सालपछि विकास भन्दापनि विनास बढी भएको बताए । राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए ।
उनले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टीकाभैरव, लेले क्षेत्र अर्को थानकोट र नारायणगढ जस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताए ।
‘हामी सत्तागठबन्धनका साथीहरू जितेर गैसकेपछि कान्ति लोकपथ सडकलाई प्राथमिकताकासाथ विकास गर्छौं । यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’
‘कुरा हैन काम गरेर देखाउने क्षमता यो गठबन्धनका उम्मेदवारसँग मात्र भएकाले यो मौका हामीलाई दिन मतदातासँग आग्रह छ’, नेता राणाले भनेका छन् ।
ललितपुर–१ प्रदेश सभा (२) का उम्मेदवार एवम् कांग्रेस नेता मीनकृष्ण महर्जनले आफू निःस्वार्थ भावनाले राजनीतिमा आएको बताए ।
उनले ललितपुरको समग्र विकास र जनताको सुखदुःखमा साथ दिन राजनीतिमा प्रवेश गरेको बताए ।
नेता महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताएका छन् ।
ललितपुर–१ मा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभामा कांग्रेसका नेता राणाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता हरि दाहालले उम्मेदवारी दिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र २ मा कांग्रेसका नेता महर्जनले उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया