उच्छृंखल तत्वले निर्वाचन विथोल्न खोजे उचित कारवाही गर्न आईजीपी सिंह कडा आदेश

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी निर्वाचन लक्षित निर्देशन दिँदै शान्ति सुरक्षा मजबुद बनाउन आग्रह गरेका छन् ।

सोमबार सिंहले मातहतलाई प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गरेका हुन् ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गरेका छन् ।

उनले निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन् ।

सिंहले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।

‘तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्नुपर्छ’, आईजीपी सिंहले निर्देशनमा भनेका छन् ।

निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्यांकनको कडी हुने सिंहले बताएका छन् ।

सिंहले निर्वाचनको सुरक्षाका क्रममा असल नियतबाट भएका काम–कारवाहीप्रति संगठनको सदैव साथ रहने विश्वास दिलाएका छन् ।

६ महिनाअघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

उनले स्रोत–साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 November 8, 12:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया