दाङमा एमालेले बढ्ता गरेपछि डण्डा भेट्यो, खतरामा परे यी ३ उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी–३ का उम्मेदवार महन्थ ठाकुरसहितका उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले एमालेको तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुमबहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई स्पष्टीकरण सोधेको विज्ञप्तिमार्फत जनाएको छ ।

स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको जनाएको छ ।

एमालेका बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको जनाएको छ ।

नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको आयोगले उल्लेख गरेको छ ।

स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिएको छ ।

बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । तपाईंले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ ।’

पत्रमा उम्मेदवार द्वयले निम्नानुसारका प्रश्नहरूको जवाफ दिनुपर्ने उल्लेख गरिएको छ ।

‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ?’, प्रश्नमा भनिएको छ ।

‘निर्वाचनका प्रक्रियाहरु अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भै सकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’, आयोगले प्रश्नमा भनेको छ ।

‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?’, आयोगले प्रश्न सोधेको छ ।

Published : Tuesday, 2022 November 8, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया