बंगलाचुलीमा सत्तागठबन्धनको शानदार कार्यक्रम, एमालेले जिते मुलुक दुर्घटनामा जाने चेतावनी

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले विकासका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. ७ मा आयोजित चुनावी कार्यक्रममा खनालले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धन चुनावमा प्रतिस्पर्धा गरेको बताए ।

उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दुईतिहाईको बहुमत हुँदा पनि दुई पटक संसद विघटन गरेर असक्षमता देखाएको बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहितका दलहरूले मुलुकलाई ओलीको दुर्घटनाबाट बचाएको बताए ।

दाङ–२ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उम्मेदवार बनेको भन्दै विजयी बनाउन आग्रह गरे ।

उप–सभापति खनाल आफू पनि दाङ–२ को प्रदेश सभा १ तर्फ उम्मेदवार बनेका छन् । उनले भने, ‘सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुस् । हामी तपाईको गाउँघरमा विकास ल्याएर आउनेछौँ ।’

माओवादी नेतृ रेखा शर्माले पनि सत्तागठबन्धनका उम्मेदवारको जित अनिर्वाय रहेको बताइन् । उनले सत्तागठबन्धनका उम्मेदवार पराजित भएमा एमालेको अहँकारमा मुलुक र जनताले दुःख पाउने बताइन् ।

कार्यक्रममा राजु खनालका साथै माओवादी नेतृ रेखा शर्मालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Published : Monday, 2022 November 7, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया