श्रीमती संघ र प्याव्सनबीच प्रहरी परिवारका सन्ततीहरूलाई भर्ना शुल्क नलिने सम्झौता
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंह र प्याबसनका अध्यक्ष डीके ढुंगानाले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गरेका छन् ।
संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।
उनले आगामी दिनमा समेत संघ र प्यावसनबीचको सहकार्य र समन्वय भइरहने बताएकी छिन् ।
प्याबसनका अध्यक्ष ढुंगानाले राम्रो काम थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीहरूलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
नेपाल प्रहरी श्रीमती संघसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नती गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने उनले बताएका छन् ।
प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम संचालन गर्ने र एक सदस्य विद्यालयले १ जना विद्यार्थी पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
प्रस्तुत सम्झौता आगामी २०८१ सालसम्म २ वर्षका लागि लागू हुनेछ । प्याबसनका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया