निसीखोला हत्याकाण्ड अनुसन्धानको सफलतामा डीआईजी जोशीद्वारा प्रहरीको प्रशंसा

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय बागलुङको निरीक्षण भ्रमण गरेका छन् ।

डीआईजी जोशीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र बिपद् व्यबस्थापन गुल्म बागलुङको पनि निरीक्षण गरेका छन् ।

उनले अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखा, कार्यालय तथा व्यारेक, हिरासत कक्ष, मेश लगायतका सम्पूर्ण शाखाहरूको निरीक्षण गरेको बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।

डीआईजी जोशीले अपराध अनुसन्धान तथा अपराध नियन्त्रण कार्यमा खटिने प्रहरी कर्मचारीहरूले आफूले सगंठनबाट सिकेको ज्ञान सिपलाई कुशलतापूर्वक जिम्मेवार भई उच्च व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

आम नागरिकका गुनासो एवम् पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न डीआईजी जोशीले निर्देशन दिएको एसपी ज्ञवालीले बताए ।

नजिकिदै गएका चाडपर्व तथा निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण तवरबाट सम्पन्न गर्नको लागि शारीरिक तथा मानसिक रुपमा तयार रहन डीआईजी जोशीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समयमा गरेको निसीखोला हत्याकाण्ड लगायतका जघन्य अपराधको अनुसन्धानमा सुझ–बुझको साथ सफल अनुसन्धान गरेको कार्यको डीआईजी जोशीले खुलेर प्रशंसा गरेका विज्ञप्तिमा उल्लेख छ ।

निसीखोलामा महिलाले आफ्नै पतिको हत्या गरेर टाउको छिनालेर खोलामा बगाइदिएकी थिइन् । बागलुङ प्रहरीले सो अपराधका दोषीहरूलाई सुक्ष्म अनुसन्धान गरेर तत्काल पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रदेश प्रहरी प्रमुख जोशीले जिल्ला प्रहरी कार्यालयमा पालिका प्रमुख, जनप्रतिनिधि, पत्रकार, स्थानीय व्यक्ति, उद्योगी व्यवसायी, महिला अधिकारकर्मी, पूर्व प्रहरी कर्मचारी, नागरिक समाजका अगुवा लगायतका उपस्थित व्यक्तिसँग अन्तरक्रिया समेत गरेका थिए ।

अन्तरक्रियाका सहभागीहरूले बागलुङ जिल्लामा ऐतिहासिक रुपले शान्तिपूर्ण तवरबाट बिवादरहित निर्वाचन सम्पन्न गराएकोप्रति जिल्ला प्रहरी कार्यलय बागलुङ परिवारलाई धन्यवाद दिएका थिए ।

सहभागीहरूले प्रहरीको आचरण व्यबहारमा सुधार भएको, जिल्लामा प्रहरीले समुदाय–साझेदारी कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यन्वयनमा ल्याएकोले नागरिक र प्रहरीको सम्बन्ध राम्रो रहेको, जिल्ला प्रहरी कार्यालय बागलुङले जनताको नजिक रहेर जनताको हितमा कठोरतापूर्वक कानून कार्यन्वयन गरिरहेको महसुस भएको बताएका थिए ।

कार्यक्रका सहभागीहरूले जिल्लाको बडीगाड गाउँपालिकाअन्तर्गत भीमगिठ्ठे बजारमा ट्राफिक पोष्ट स्थापनाको आवश्यकता औल्याएपछि डीआईजी जोशीले ट्राफिक पोष्ट स्थापना गर्न बागलुङ प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

प्रहरीको सेवा सुविधा लगायतमा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता अन्तरक्रियाका सहभागीहरूले जनाएका छन् ।

Published : Sunday, 2022 September 18, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया