तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक खड्काले काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी दिने

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा निर्णायक अशोक खड्काले प्रदेशसभाका लागि स्वतन्त्रतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा कार्यक्रम गरेर खड्काले काठमाडौं क्षेत्र नम्बर २ ‘ख’बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ स्वतन्त्रमा उम्मेदवारी घोषणा गरेका छन् ।

युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने खड्काले बताएका छन् । जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्यलगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा आशावादी रहेको उनले बताएका छन् ।

आफूले जितेमा जनताको काममा समर्पित हुने बताएका खड्काले आफूसँग जनताको पक्षमा रहेका काम गर्ने दर्जनौ योजना भएको बताएका छन् ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहेको खड्काले १४ पटक अप्रेसन गरेको गोडाको साथमा अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेका छन् । उनले ५ हजार बढीलाई तेक्वान्दो सिकाइसकेका छन् ।

उनले यौनजन्य हिंसामा परेका महिलाहरू, चेपाङ बालबालिका, जेल परेका अभिभावकका छोराछोरी र विभिन्न समस्या परेका बालकालिकाहरूलाई पनि निशुल्क तेक्वान्दो सिकाइरहेका छन् ।

कोरिया, युके, मलेसिया, अष्ट्रेलिया, जापान, हङकङ, भारत लगायतका देशहरुमा पुगेर गोल्ड मेडेल जितेर आफ्नो नाम मात्रै नभई देशको नै नाम विश्वसामु चिनाएको उनले सन् २०२२ मा मात्रै बेल्जियम, स्वीडेन, अष्ट्रिया, बुल्गेरिया इत्यादि राष्ट्रबाट आमन्त्रित भई निर्णायक भएर काम गरेका छन् ।

नेपाल सरकारले समग्र खेलकुदको उत्कृष्ट निर्णायकको अवार्डसहित खड्कालाई १ लाख नगदले सम्मान समेत गरिसकेको छ ।

Published : Saturday, 2022 September 17, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया