मन्त्री राईले विकासको मूल फुटाइदिए, जनताले अब सुःख पाउने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले एकपछि अर्को योजनाको शिलान्यास गरेका छन् ।
तीन साताअघि नेपालगन्ज–राँझा सडक खण्ड असफाल्क प्रविधिबाट कालोपत्रे गर्न र नेपालगन्ज तथा कोहलपुरमा आकासे पुल निर्माणको शिलान्यास गरेका उनले बुधवार हुलाकी सडकअन्तरगत नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गरेका छन् ।
कुल ३५ किलोमिटर सडक अन्तरगत २२ किलोमिटर चार लेन र १० किलोमिटर दुई लेन सडक निर्माण गर्न मन्त्री राईले शिलान्यास गरेका हुन् ।
उनले सहर तथा बस्ती भएको २२ किलोमिटर सडक चार लेन र १० किलोमिटर सडक दुई लेन निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए ।
२६ असोजसम्म टेण्डर हाल्ने अन्तिम मिति भएको बताउँदै उनले यहि महिनाको अन्तिम साताभित्र ठेक्काको टुंगो लाग्ने बताएका छन् ।
उनले भने, ‘कात्तिकदेखि निर्माणको काम सुरु भई तीन वर्षमा सकिने छ ।’ हुलाकी सडकअन्तरगत नेपालगन्ज–सिधनियाघाट सडक पनि चार लेन निर्माण गर्न लागिएको मन्त्री राईले बताएका छन् ।
उक्त सडकमा पनि बस्ती भएको ठाउँमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण हुने मन्त्री राईको भनाई छ । सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बर्दिया क्षेत्र नं. १ बाट विजयी प्रतिनिधि सभा सदस्य संजय गौतमले सडक स्तरोन्नति भए नेपालगन्ज–गुलरिया आउजाउ गर्न सहज हुने बताए ।
उनले सडक जीर्ण भएका कारण नेपालगन्ज आउन सास्ती खेप्नु परेको बताउँदै नेपालगन्जसँग गुलरियालाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनसंख्या र सवारी साधनको चाँप बढेसँगै नेपालगन्ज–गुलरिया सडक साँघुरो भएकोले स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको बताए । उनले तीन वर्षभित्र सक्ने गरि टेण्डर आह्वान गरिएको जानकारी दिए ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपालका अधिकांश जिल्ला सडक संजालसँग जोडिएको बताउँदै ९७५ किलोमिटर लामो हुलाकी सडक निर्माण पूरा भएसँगै स्तरोन्नतिको काम अगाडि बढाएको बताए ।
उनले नेपालमा एक हजार २४ किलोमिटर महेन्द्र राजमार्ग, १३ सय किलोमिटर मदन भण्डारी राजमार्ग, १७ सय किलोमिटर मध्य पहाडी राजमार्ग रहेको बताए ।
हुलाकी राजमार्गअन्तरगत ३१ वटा सहायक राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग, पृथ्वी राजमार्ग पनि नेपालमा रहेको उनको भनाई थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया