विश्वकै धनी सूचीमा परेका कांग्रेस नेता विनोद चौधरी खेल मैदानमा जबरजस्त प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूलाई राजनीतिमा सक्रिय हुन युवाहरूले बढि प्रोत्साहन गरेको बताएका छन् ।
उनले विभिन्न कार्यक्रममा सहभागी हुँदा युवाहरूले राजनीति गर्न प्रेरित गरेको बताए । ‘मलाई युवा पुस्ताले जहिले पनि एउटै प्रश्न सोध्नुहुन्थ्यो । सडकबाट उठेर न्यूयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर, मुलुकको अवस्था यस्तो छ । यो मुलुकलाई तपाईले दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ?’, उनले भने, ‘तपाई यो देशको रुपान्तरणमा केही योगदान रहँदैन भनेर मलाई प्रश्न गरिरहे युवाहरूले ।’
आफू आवद्ध संस्थामा सफल नेतृत्व गरेको प्रसंग उल्लेख गर्दै उद्यमी एवं कांग्रेस नेता चौधरीले मुलुकको परिवर्तनका लागि प्रत्यक्ष राजनीतिमै होमिनुपर्ने निष्कर्षमा पुगेको बताए ।
‘म आफू सम्बद्ध रहेका संस्थाको सफल नेतृत्वका रुपमा सधैं रहे । विभिन्न प्रकारका महत्वपूर्ण मुद्दामा आफ्ना प्रष्ट धारणाहरू राखे । चाहे त्यो संसदमा होस्, विभिन्न सेमिनार गोष्ठीमा होस् वा मिडियामा’, उनले भने, ‘मेरो निष्कर्ष के रह्यो भने दर्शक बनेर परिवर्तन सम्भव छैन, परिवर्तनका लागि खेलाडीका रुपमा मैदानमा प्रवेश गर्नैपर्छ । खेलाडीमा पनि अलगअलग श्रेणीका हुन्छन् । गोल हान्ने खेलाडी बन्नुभयो भने परिवर्तन ल्याउन सक्नुहुन्छ ।’
उनले आफू अहिले खेलाडीका रुपमा मैदानमा भएपनि गोल गर्ने अवस्थामा भने नरहेको स्वीकार गरे ।
‘म खेलाडीका रुपमा मैदानमै छु, भित्रै छु । गोल हान्नै सक्ने अवस्थामा छैन । आफ्ना कुरा राख्छु । जतिसुकै बलियो गरी आफ्ना कुरा राखेपनि सुन्ने निकाय संवेदनशील छैन । सुनेका कुरालाई कार्यान्वयनमा लैजादैन भने जति बोले पनि व्यर्थ हुन्छ’। उनले भने ।
सफल नेतृत्व भए छोटो अवधिमै मुलुक समृद्ध बन्ने चौधरीको दावी छ । उनले भने, ‘सफलता लामो समय नजान सक्छ । सफलताले तपाईको नयाँ बाटो, नयाँ दृष्टिकोण दिन सक्नुपर्छ । असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ । म जहिले पनि सडकमै रहे ।’ कांग्रेस नेता चौधरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने तयारीमा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया