बोलपत्रसम्बन्धी प्रकाशित समाचारमा कुनै सत्यता छैन : महानिर्देशक अधिकारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले ‘म्यादी मन्त्री र महानिर्देशकले चुनाव खर्चको व्यवस्था गरेरै छाडे, १० देखि १५ करोड शुरुको कमिशन’ शीर्षकको समाचारको खण्डन गरेका छन् ।
सोमबार महानिर्देशक अधिकारीले खण्डन पठाएर समाचार तथ्यहीन, भ्रामक, कपोकल्पित र झुठ्ठा रहेको जनाएका छन् । उनले सो समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘उल्लेखित समाचारहरूले आम जनमानसमा भ्रम पर्न जाने, मेरो व्यक्तिगत चरित्र र संस्थाको माहानिर्देशक पदको मर्यादामा समेत आँच आउने गरी प्रकाशित समाचारहरू झुठ्ठा भएको व्यहोरा खण्डन गरिएको छ’, अधिकारीले भनेका छन् ।
खण्डन पत्रमा उनले भनेका छन्, ‘सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा तोकिएको प्रावधानलाई पालना गरी प्राधिकरणबाट भएको बोलपत्रसँग सम्बन्धित विषयहरूमा प्रकाशित गरिएको भ्रामक समाचारमा कुनै सत्यता छैन ।’
रिपब्लिका दैनिकले प्राधिकरणले ५ वटा विमानस्थलमा झण्डै १० अर्बको टेण्डर निकालेको विषयमा भदौ ८ गते समाचार प्रकाशित गरेको थियो ।
ताप्लेजुङ, विराटनगर, भरतपुर, नेपालगञ्ज र डोल्पाको विमानस्थलसम्बन्धी समाचारमा महानिर्देशक अधिकारीले आपत्ति जनाएका हुन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया