प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं–६ बाट सांसदका लागि सिफारिस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्वर ६ बाट समानुपाति सांसदको लागि सिफारिस भएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय कार्यसमितिको विहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातितर्फ सांसदका लागि पुरुषतर्फ उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् ।
दश वर्षदेखि काठमाडौं महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए । कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसंघको स्कुल सचिव भएका उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातिन्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए ।
त्यसपछि उनी राजनीतिमा केही समय निस्क्रिय हुँदै समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गरेका थिए ।
नागरिक दैनिक, अन्नपूर्ण पोष्ट लगायतका संचार माध्यामहरूमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ संचार विज्ञमा नियुक्त गरेका थिए ।
उनको प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा यो दोस्रो कार्यकाल हो ।
अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनीले सन् २०१२ मा बेलायतको थम्सन फाउण्डेशनबाट खोज पत्रकारिता पुरस्कार पनि जितेका थिए ।
उनले पत्रकारिताका विभिन्न विधामा बेलायत, अमेरिका, अष्ट्रेलिया र नेदरल्याण्डबाट अध्ययन तथा तालिम लिएका छन् ।
पछिल्लो समय राजनीति अभियान र राजनीतिक संवादमा विभिन्न संस्थामार्फत काम गर्दै आएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया