माओवादीका वडाध्यक्षले सरकारी सम्पत्ति नराम्रोसँग भ्याए, बयान दिएर हैरान

काठमाडौं । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ बिर्तादेउरालीमा वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्ष धनबहादुर तामाङले अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि खैलाबैला भएको छ ।

वडाध्यक्ष तामाङविरुद्ध असार १९ गते आयोगमा उजुरी परेको छ । उजुरी परेपछि वडाध्यक्ष तामाङले जवाफ समेत पेश गरिसकेका छन् ।

उजुरीमा चौरीदेउराली–८ बिर्तादेउरालीमा वडा कार्यालय भवन बनाउनका लागि जग्गा किन्ने काममा २०७४ साल जेठ २८ गते जग्गा धनी रमला पन्तबाट चौरीदेउराली–८ बिर्तादेउरालीको कि नं ४८० क्षेत्रफल १–०–०–०(५०८.७४ वर्ग मिटर) भएको जग्गा खरिद गरेको र सोही जग्गामा बडा कार्यालय भवन बनाउन चौरीदेउराली गाउँपालिकाबाट टेन्डर भई वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको उल्लेख गरिएको छ ।

तामाङ स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी दोहो¥याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

भवन सरकारी स्वामित्व रहेको जग्गा बिर्तादेउरालीको कि नं. ४८० क्षेत्रफल १–०–०–० (५०८.७४ वर्ग मिटर) भएको स्थानमा बन्नुपर्नेमा वडाध्यक्ष तामाङ, जग्गाधनी तथा वडा सदस्य (हाल गाउँकार्यपालिका सदस्य समेत रहेकी) श्रीमती रमला पन्तको मिलोमतोमा रमला पन्तकै स्वामित्व तथा हकभोग रहेको बिर्तादेउरालीको कि नं ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा निर्माण गरेका छन् ।

स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले सो विषयमा नापी कार्यालय काभे्रपलाञ्चोकबाट जारी नक्सा प्रिन्ट भिडायर स्थलगत अवलोकन गर्दा वडा कार्यालय बिर्तादेउरालीको कि.नं. ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा निर्माण भएको र सो कित्ताको जग्गा उत्तरतर्फ जग्गाधनीहरू क्रमशः बिर्तादेउरालीको कि.नं. ४४ क्षेत्रफल १३–०–२ को हेम लक्ष्मी पन्त, बिर्तादेउरालीको कि नं. ४४ क्षेत्रफल ०–१५–०–२ ठूली तामाङ र बिर्तादेउरालीको कि नं. ४६ क्षेत्रफल १–०–२–३ को चमारसिं तामाङको जग्गातर्फ सटियर निर्माण भएको स्पष्ट रहेको छ ।

जग्गाधनी रमला पन्तसँग वडा कार्यालयलाई जग्गा मिलाएबापत वडाध्यक्ष तामाङले वडा कार्यालयको नाममा खरिद गरिएको जग्गासँगैको बिर्तादेउरालीको कि.नं. ४८२ क्षेत्रफल ०–१४–०–० भएको जग्गा खरिदबिक्री लेनदेन मिलाएर कारोबार हिसाबकिताबमा मिलान गरी विना पैसामा आफ्नो नाममा पास गरेर भ्रष्टाचार गरेको आरोप छ ।

वडा सदस्य रमला पन्तले वडा कार्यालय भवन निर्माण कार्य सम्पन्नपछि यो कार्यालय भवन मेरो नितान्त निजी हकभोग रहेको बिर्तादेउरालीको कि.नंं. ४८३ क्षेत्रफल १–४–२–१ भएको जग्गामा बनेको हो भनी सार्वजनिक रुपमा भन्दै हिँडेकी छिन् ।

उनले करोडौं मूल्यबराबरको सरकारी सम्पत्ति निजी प्रयोजनमा आउने गरी जिल्ला नापी कार्यालयबाट खटिएको अमिनसहितको टोलीले कित्ताकाट गरी छट्याइएको कि.नं. ४८० क्षेत्रफल १–०–०–० (५०८.७४ वर्ग मिटर) भएको जग्गामा भवन जानी जानी निर्माण नगरी आफ्नो निजी कि.नं. ४८३ क्षेत्रफल १–४– २–१ भाको जग्गामा निर्माण गरी करोडौं मूल्यबराबरको सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचारमा संलग्न वडा अध्यक्ष तामाङ, चौरीदेउराली गाउँकार्यपालिका सदस्य तथा जग्गाधनी रमला पन्तलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाउन अनुरोध अख्तियारमा परेको उजुरीमा माग गरिएको छ ।

के भन्छन् वडाध्यक्ष तामाङ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको सत्य हो । मैले जवाफ पनि दिएको छु । उजुरीमा भने जस्तो कुनै पनि कार्य भएको छैन । म दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएको छु । मैले राम्रो काम गरेकै कारणले जनताले दोस्रो पटक निर्वाचित गराएका छन् । मैले राम्रो काम गरेपछि मन नपराउने सानो समूहले विभिन्न फण्डा गरेको मात्रै हो । म निर्दोष छु । आरोप लगाइए जस्तो केही पनि होइन ।

Published : Thursday, 2022 September 1, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया