ओलीसँग लसपस गरेपछि चौधरीको मन्त्री पद फुत्कियो

धनगढी । एमालेतिर लसपस गरेपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तमा परेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावलले बताए ।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।

मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो ।

चौधरी एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको बुझिएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका थिए । चौधरीले ओलीसँग भेट गरेर एमाले प्रवेशको तयारी गरेका थिए ।

चौधरीसँगै एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरूलाई एमाले प्रवेशको तयारी गरेका छन् ।

Published : Thursday, 2022 September 1, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया