कपिलवस्तु कांग्रेसमा युवाहरूको जबरजस्त प्रवेश, प्रतिनिधि सभामा आशिष शर्माको दाबी

तौलिहवा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले कपिलवस्तु– २ बाट प्रतिनिधि सभातर्फ टिकटा लागि दाबी पेश गरेका छन् ।

महाधिवेशन प्रतिनिधि समेत रहेका शर्माले प्रत्यक्षतर्फ टिकटमा दाबी गरेका हुन् । अग्रजलाई उचित सम्मानसहित युवाहरूलाई पनि स्थान दिनुपर्ने माग उठिरहेका बेला शर्माले टिकटमा दाबी गरेका छन् । उनको दाबीले कपिलवस्तुका युवाहरूमा उत्साह थपिएको छ ।

शर्माले युवा भनेको देशको अनमोल शक्ति भएको र राष्ट्रको भविष्यको सबैभन्दा ठूलो पुँजी रहेको बताएका छन् । उनले युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता महशुस गरी आफूले प्रतिनिधि सभामा उम्मेदवार बन्ने योजना बनाएको उल्लेख गरेका छन् ।

कांग्रेस नेतृत्वले आफूलाई विश्वास गरेर टिकट दिएमा युवाहरूको साथ र समर्थन तथा अग्रजहरूको आशीर्वाद लिएर जितेर देखाउने घोषणा गरेका छन् । उनले भने, ‘मैले टिकट पाएँ भने कांग्रेसलाई जिताएर देखाउँछु । म पनि जित्छु । क्षेत्र नं. २ का जनताको माया र समर्थन मलाई रहन्छ ।’

नेता शर्माले अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहे पनि कांग्रेस बलियो रहेको ठाउँमा टिकट कांग्रेस आफैले राख्नुपर्ने सुझाव दिएका छन् ।

युवा नेता शर्मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।

कपिलवस्तु कांग्रेसमा सशक्त रुपमा आएका शर्माले सबैलाई मिलाएर लैजाने क्षमता आफूमा रहेको बताएका छन् ।

मुलुकभरि युवाहरूले टिकट पाउनुपर्ने माग र चर्चा चलिरहेका बेला शर्माले प्रतिनिधि सभामा दाबी गरेपछि कपिलवस्तुका युवाहरूमा उत्साह छाएको छ ।

शर्माले कपिलवस्तुका कांग्रेसका नेता कार्यकर्तालाई संरक्षण गर्दै आएका छन् । कार्यकर्तालाई कुनै समस्या पर्दा शर्मा पहिलो पंक्तिमा उभिएर सहयोग गर्दै आएका छन् ।

उनले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणसहितका नेताहरूले पार्टीका लागि गरेको कार्यको प्रशंसा समेत गरेका छन् ।

कपिलवस्तु– ३ मा कांग्रेसको क्षेत्रीय कार्यसमितिले युवा नेता अभिषेकप्रताप शाहलाई सर्वसम्मत प्रतिनिधि सभाको टिकटका लागि सिफारिस गरिसकेको छ । जुझारु र सशक्त काम गर्ने युवा भएकै कारण शाहले सो क्षेत्रबाट पटक–पटक जित्दै आएका छन् ।

कपिलवस्तु– २ मा पनि युवा नेता शर्माले कांग्रेसबाट टिकट पाए भने उनको जित पक्का रहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

क्षेत्र नं. २ को कांग्रेसको कार्यसमिति र जिल्ला कार्यसमितिले पूर्वाग्रही भएर शर्माको नाम प्रदेश कार्यसमितिसम्म नठाउन पनि सक्छ । त्यो अवस्थामा कपिलवस्तुका युवाहरूले खबरदारी गर्नेछन् । शर्माले टिकट पाउने वा नपाउने अर्को पाटो हो । तर, शर्मालाई तलै रोक्न केही नेताहरूले ठूलो चलखेल गर्न सक्ने चर्चा पनि छ ।

Published : Wednesday, 2022 August 31, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया