पौडेलको गृह प्रदेश गण्डकीमा देउवा बलियो, कसको कति प्रतिनिधि ?
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा पनि सभापति शेरबहादुर देउवा समूह महाधिवेशन प्रतिनिधिमा स्पष्ट बहुमतमा देखिएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा देउवा समूहको भारी बहुमत देखाएको हो ।
पौडेलको आफ्नै गृह जिल्ला तनहुँमा देउवा समूहकै अग्रता देखिएको छ । केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुब वाग्लेसमेत देउवा समूहमा एकढिक्का भएर उभिएपछि महाधिवेशन प्रतिनिधिमा पौडेल समूह तनहुँमै अल्पमतमा परेको छ ।
दुई क्षेत्र रहेको तनहुँमा देउवा समूहमा २८ मत आएको छ । पौडेल समूहमा भने २२ मत मात्र आएको छ ।
तनहुँको महाधिवेशन प्रतिनिधि निर्वाचनमा देउवा समूहको बहुमत हुनु आफैमा नौलो विषय रहेको चर्चा तनहुँमा छ ।
गण्डकीकै स्याङजामा भने बराबरीको अबस्था देखिएको छ । दुबै क्षेत्रमा गरी २५–२५ को अवस्था रहेको छ ।
गोर्खामा पनि देउवा समूह बहुमतमा देखिएको छ । दुई क्षेत्र भएको गोरखामा संस्थापन पक्षको ३२ प्रतिनिधि देखिएका छन् । पौडेल समूहको १८ मत रहेको छ ।
गोरखामा चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र निवर्तमान सभापति हरि घले देउवा समूहको हस्तीका रुपमा चिनिन्छन् ।
गण्डकीमा जिल्ला सभापतिमा पनि देउवा समूहले बहुमत सुरक्षित गरेको छ । एउटा क्षेत्र रहेको मनाङमा देउवा समूहमा २४ मत र पौडेल समूहको १ मत मात्र आएको छ । मनाङमा झण्डै ‘क्लिन स्विप’ को अबस्थामा पौडेल समूह रहेको छ ।
मनाङमा पूर्वमन्त्री पाल्टेन गुरुङ र टेकबहादुर गुरुङ देउवा समूहको पिल्लर मानिन्छन् ।
मुस्ताङमा भने देउवा समूह केही कमजोर देखिएको छ । पूर्वमन्त्री समेत रहेका सभापति रोमी गौचन सभापति देउवालाई चिढ्याउने पक्षमा छैनन् । उनले समय आएपछि उपयुक्त निर्णय गर्नेछन् ।
म्याग्दीमा पनि देउवा समूहको १८ र पौडेल समूहको सात जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् ।
पर्वतमा पनि संस्थापन पक्षले २० महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ । केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, युवा नेता विद्वान गुरुङ, यामबहादुर मल्ल ‘रामकृष्ण’लगायतका नेता देउवा समूहका हस्ती मानिन्छन् ।
बागलुङ र लमजुङमा भने देउवा समूह थोरै मतले पछाडि देखिएको छ । बागलुङका दुई क्षेत्रमा गरी संस्थापन समूहको १५ महाधिवेशन प्रतिनिधि चुनिँदा पौडेल समूहले भने ३५ प्रतिनिधि हात पारेको छ ।
लमजुङमा पनि संस्थापन समूहले दश प्रतिनिधि पाउँदा पौडेल समूह १५ प्रतिनिधिसहित बहुमतमा छ ।
कास्कीका ७५ महाधिवेशन प्रतिनिधिमा पौडेल समूह केही अगाडि छ । तीन क्षेत्रका ७५ प्रतिनिधिमध्ये ३२ जना संस्थापन पक्षका हुन् ।
सिटौला र शेखर कोइरालाका पनि छुट्टाछुट्टै प्रतिनिधि रहेकाले कास्कीमा पनि देउवा समूह नै झिनो मतले अगाडि देखिएको छ ।
नवलपुरमा पनि आधा–आधाको अवस्था देखिएको छ । दुई–तीन मत मात्र यताउता हुनसक्ने अबस्था रहेको नेताहरूको भनाइ छ ।
गण्डकीका दश जिल्लामध्ये आठ जिल्ला सभापतिको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये मनाङ, लमजुङ, पर्वत, कास्की र म्याग्दीका सभापति देउवा पक्षीय हुन् ।
स्याङजामा निर्वाचित सभापति राजु थापा केन्द्रमा सभापति देउवा निकट मानिन्छन् ।
गोर्खामा निर्बिरोध चयन भएका सभापतिको पनि देउवातिरै झुकाव देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया