महन्थले एमालेको महाधिवेशनलाई हिन्दीमा सम्बोधन गर्ने, उपेन्द्रले नेपालीमै बोल्ने

भरतपुर । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ‘हिन्दी’ भाषामा सम्बोधन गर्ने तयारी गरेका छन् ।

एमालेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न ठाकुर चितवनको भरतपुर पुगिसकेका छन् । अध्यक्ष ठाकुरले एमालेको अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्ने जानकारी एमालेलाई पठाएको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा हिन्दी भाषामा बोल्दै आएका अध्यक्ष ठाकुरले एमालेको अधिवेशनमा पनि हिन्दी भाषामा बोल्ने तयारी गरेका हुन् ।

‘एमालेका कार्यकर्ताहरूले अध्यक्ष ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्दा विरोध हुने डरले नेपाली भाषामै बोले भने अर्को कुरा हो नत्र ठाकुरज्यूले हिन्दी भाषामा सम्बोधन गर्ने भन्नुभएको छ’, स्रोतले भनेको छ ।

एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा अध्यक्ष ठाकुरले हिन्दीमा भन्दा पनि मैथिली भाषा वा नेपाली भाषामध्ये एक भाषामा उद्घाटनसत्रलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने नेपाली भाषामै एमालेको उद्घाटन सत्रलाई सम्बोधन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष यादव मौसमअनुसार रकमे काम गर्ने नेतामा पर्छन् । विरोध हुने डरले अध्यक्ष यादवले हिन्दीमा सम्बोधन नगरेर नेपाली भाषामा सम्बोधन गर्नेछन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली र लोसपाका अध्यक्ष ठाकुरबीच निकै राम्रो सम्बन्ध छ । ओलीलाई प्रधानमन्त्री बनाउन अन्तिम समयसम्म ठाकुरले साथ दिएका थिए ।

ओलीका संविधान विपरितका गलत हर्कतलाई सधैँ ठाकुरले साथ दिँदै आएका छन् ।

Published : Friday, 2021 November 26, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया