लोकप्रिय मतसहित कांग्रेसका पूर्वसांसद खनाल निर्वाचित, सक्सेस बन्यो दाङ–२ मा टिम

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले लोकप्रिय मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

दाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको बुधबार प्राप्त अन्तिम नतिजाअनुसार खनालले ४२० मत पाएको निर्वाचन समितिले जनाएको छ । ६४२ मत खसेको थियो ।

युवा नेता खनाल सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । खनालसहितका नेताहरूले क्षेत्र नं. २ को सभापतिमा भीमप्रकाश खड्कालाई जिताएका छन् । खड्काले सभापतिमा ३६६ मत पाएका थिए ।

यसैबीच, नेता खनालले दाङ क्षेत्र नं. २ को अधिवेशनमा सहभागी कांग्रेसका नेता कार्यकर्ता र प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।

उनले जिल्ला अधिवेशनमा पनि सक्रियताका साथ सहभागी भनेर आफूहरूको टिमलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

दाङका तीन वटै क्षेत्रमा निर्वाचित पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसका युवा नेता खनालले बधाइ दिएका छन् । उनले जिल्ला अधिवेशनमा अलस र सक्षम नेतृत्वलाई निर्वाचित बनाउन आग्रह गरेका छन् ।

खनालले दाङ कांग्रेसका अग्रज नेताहरूको परामर्श, सुझाव र तयारीमा टिमले जितेको भन्दै जिल्ला अधिवेशनमा पनि टिमले जित्नेमा आशा लिएको उल्लेख गरेका छन् ।

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अधिवेशनभित्र सीमित गर्न पनि अनुरोध गरेका छन् । अधिवेशनमा सबैको जित भएको भन्दै खनालले पार्टीभित्रको आन्तरिक निर्वाचतलाई जित र हारका रुपमा कसैले पनि लिन नहुने बताएका छन् ।

Published : Wednesday, 2021 November 24, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया