नेविसंघका पूर्वअध्यक्ष महरद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गृहजिल्ला डडेल्धुरामा मंगलबार पत्रकार सम्मेलन गरेर कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका हुन् ।

उनले भने, ‘केन्द्रीय समिति सदस्य पदमा उठ्न मैले आज गृहनगरबाटै यात्रा थालेँ ।’

नेता महरले डडेल्धुराबाट प्रचार प्रसार शुरु गरेको बताउँदै जिल्ला–जिल्ला पुगेर भोट माग्ने बताएका छन् ।

सभापति पदमा शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने उनले बताएका छन् ।

उनले पार्टीका सबै संरचनामा एक व्यक्ति एक पद र दुई कार्यकालमात्रै लागू गरिनुपर्ने एजेन्डा अगाडि सारेको बताएका छन् । शिक्षा र स्वास्थ्य सबैका लागि निःशुल्क हुनुपर्ने उनको एजेन्डा छ ।

युवा नेता महर डडेल्धुरा कांग्रेसको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेवित्तिकै उनले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

Published : Tuesday, 2021 November 23, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया