कांग्रेसका १२ विवादित जिल्लाको कुरा मिल्यो, लफडा गर्ने यो जिल्लाले दण्ड पाउने

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १२ जिल्लाहरूमा निर्वाचन अधिकृत खटाएको छ ।

कांग्रेसले १३ मध्ये १२ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो । रौतहट जिल्लामा निर्वाचन अधिकृत खटाइएको छैन । रौतहट कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा विवाद छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले रसुवा जिल्लाको सदस्यता निर्वाचन समितिले पाएको बताएका छन् ।

निर्वाचन समितिले कुन जिल्लामा कसलाई पठाइयो भनेर सूची भने सार्वजनिक गरेको छैन ।

संयोजक यादवले कात्तिक २७ गते सबै जिल्लामा वडा अधिवेशन शुरु हुने बताएका छन् । उनले कुनै वडामा अधिवेशन प्रभावित भएमा निर्वाचन अधिकृतले नै आवश्यक निर्णय गरेर केन्द्रमा जानकारी गराउने बताएका छन् ।

बारा जिल्लामा पनि विवाद छ । बारामा निर्वाचन अधिकृत जान नमानेको स्रोतले जनाएको छ ।

संयोजक यादवले रौटहतको सदस्यता विवाद नटुङ्ग्याए बाँकी जिल्लाको अधिवेशन टुङ्ग्याउने र पार्टीले निर्णय गरेअनुसार अघि बढ्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको सूची बुझाएपछि केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

पार्टीको वेवसाइटमा रसुवाको क्रियाशील सदस्यताको सूची प्रकाशित गरिएको छ । रसुवामा तत्कालीन नयाँ शक्तिलगायतबाट प्रवेश गरेकाहरूलाई क्रियाशील दिनेबारे विवाद थियो ।

प्रदेश नम्बर २ को रौतहट जिल्लाको मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउन बाँकी छ । रौतहटमा कुरा मिलेन भने पुरानै क्रियाशील सदस्यतानुसार अगाडि बढ्ने निर्णय हुन सक्नेछ । रौतहटले महाधिवेशनमा भाग लिन पनि नपाउन सक्छ ।

कांग्रेसले कात्तिक २७ गते प्रदेश २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन गर्ने भनेको छ । यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको थियो ।

कांग्रेसले १३ जिल्लामा भने जिल्ला अधिवेशनसमेत गरिसकेको छ । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा कांग्रेसले १४ औं महाधिवेशन गर्दैछ ।

कांग्रेसले भदौ १८ गतेबाट वडा अधिवेशन सुरू गरेको थियो । कांग्रेसमा करीव ९ लाख क्रियाशील सदस्य पुगेका छन् ।

Published : Monday, 2021 November 8, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया