ओलीको कपडामा भ्वाँङहरू पर्ने गरेर गगनले एमालेलाई नङ्ग्याए, खुसीले गडड…ताली बज्यो

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले अब आउने सबै प्रकारको चुनावमा एमालेलाई कुचो लगाएर बढारे फाल्नुपर्ने बताएका छन् ।

भक्तपुरमा नेपाली कांग्रेसले बुधबार बिहान आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमालेलाई कुचो लगाएर बढारेर फाल्ने बताए । कुनाकाप्चामा रहेछ भने पनि भ्याकुम लगाएर फाल्ने चेतावनी उनले दिएका छन् ।

‘धोबीले पच्छारेको जस्तो होइन । यो पटक माथिदेखि तलसम्म सबै चुनावमा कांग्रेसका कार्यकर्ताले संकल्प गर्नुपर्नेछ यो पटक । यो पटकको चुनावमा एमालेलाई बढार्ने हो । कुचो लगाएर बढार्ने हो’, उनले भने, ‘बढार्दाखेरी कुनै कुनाकाप्चामा अड्क्यो भने भ्याकुम क्लिनर लगाएर भए पनि तानेर सफा गर्ने हो ।’

‘केपी ओलीलाई लज्जाबोध हुनुपर्ने थियो । शिर निहुराएर बस्नुपर्ने थियो । म हेर्दैछु । गाउँमा हिँड्नुभएको छ । कहिले यो जिल्ला, कहिले त्यो जिल्ला, कहिले यहाँ चियापान, कहिले त्यहाँ चियापान’, उनले भनेका छन् ।

‘अझै पनि फर्ती सुन्छु । सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा आफ्नो सरकार । संघमा त्यत्रो प्रचण्ड बहुमतको सरकार’, थापाले भने, ‘जनताले निर्वाचित गरेर पठाएको सरकारलाई बचाउन नसक्नेले तिम्रो सरकार ढालिदिन्छु भन्छन् ।’

‘गाउँघरमा जुवा खेल्न आउँदाखेरी जुवाडेले सबै हारिसक्यो । आफूसँग पैसा, घर, खेत सबै हारिसक्यो । तैपनि छेउमा बसेर हजार लेत भनेर बसेको छ’, कांग्रेसका नेता थापाले भनेका छन् ।

‘संघको सरकार गइसक्यो । प्रदेशको सरकार गइसक्यो । सडकमा आइसक्यो । तैपनि देखाइदिन्छु रे । एक्लै आइज रे । एमालेले आजसम्म एक्लै लडेर सरकार बनाएको छ ?’, उनले भने, ‘०५१ सालमा एमालेले सरकार बनाउँदा कांग्रेसले भोट हालेर बनाएको सरकार चित्त नबुझेर ढालेको होइन ? माधव नेपाल बन्दै गर्दा गिरिजाप्रसादले बनाएको होइन ? केपी ओली बन्दै गर्दा प्रचण्डले बनाएको होइन ? ०७० ससालमा एमाले थर्ड भएको होइन ? एक्लै लडे थर्ड हुन्छ । सिङ्गल सिङ्गल आइज ।’

नेता थापाले भने, ‘कांग्रेस अहिलेसम्म सिङ्गल आएको हो । हामी एक्लै लडेर आएको हो ।’

उनले भने, ‘एमाले फुटेर फेरि एमाले बन्यो । नेकपा उनीहरू आफैले बनाएको हो । अब नेकपा एमाले होइन । भीम रावल र घनश्याम भुसाल छन् । तिनीहरूलाई पनि कहिले निकालेर फाल्ने हो । एमाले पार्टी होइन । केपी ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनै पर्छ । हामीले पनि पाएका हौँ । ०५१ सालमा दण्ड पायौँ ।’

उनले भने, ‘प्रधानन्ययाधीशविरुद्ध सबै न्यायाधीश लडेर बसेका छन् । त्यसको कारक पनि ओली हो । ओलीले प्रधानन्याधीशसँग सेटिङ गर्न थालेपछि यहाँसम्म आएको छ । अख्तियार पङ्गु बनाएको छ ।’

नेता थापाले भने, ‘५ हजार मान्छे तत्कालीन सरकारको कारण, केपी ओलीको लापरबाहीले कोरोनाबाट मारिएका छन् । त्यो मारिएको होइन हत्या भएको हो ।’

‘मुगुमा गएर ओलीले बच्चा समात्नुभयो । सबैले पढ्न पाउँछन् भन्नुभयो । त्यो बच्चोको अत्तोपत्तो छैन’, उनले भनेका छन् ।

‘ओलीलाई कार्यकर्ताले भन्नुपर्ने थियो । पार्टीका कार्यकर्ता बा…बा…बा…बा…भन्दै गए । ती कार्यकर्ता थिएनन् । ती भाट थिए । हामी कार्यकर्ता हौँ’, उनले भने, ‘प्रधानमन्त्री भएपछि शेरबहादुर देउवालाई दुई पटक भेटेर तपाईको सरकार भएपछि खोपमा राम्रो भएको छ, यो काममा चुक्नुभएको भनेर आएको छु । राजनीतिक दलभित्र कार्यकर्ता हुनुहुपर्छ । बा नाङ्गै हिँडेको छ । कसैले भन्ने हिम्मत गरेको छैन । त्यसको मूल्य ओलीले मात्रै होइन हामीले पनि चुकाउनु परेको छ ।’

उनले भने, ‘०७४ सालदेखि ५ वर्ष अनुकूलताको सरकार चलाउनु पर्ने थियो । आज शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने होइन । प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाही बन्नुपर्ने होइन ।’

‘नेकपाले अवसर पाएको हो । नेकपाले सहि ढंगले सरकार चलाएको भए २०७९ सालको मंसिरमा चुनाव हुन्थ्यो । नेकपाले राम्रो काम गरेको भए जनताले जिताइदिन्थ्यो । हामी प्रतिपक्षमा बस्ने थियौँ । केही फरक पर्ने थिएन’, उनले भनेका छन् ।

‘अहिले शेरबहादुर देउवाको नेतृत्वमा सरकार छ । एक वर्षपछि चुनाव गर्नुपर्नेछ । बलियो सरकार खोजेको हो । समस्या समाधान गर्न बलियो प्रधानमन्त्री केपी ओली थिए । काम गरेनन्’, थापाले भनेका छन् ।

उनले भने, ‘पूर्वपश्चिम महेन्द्र राजमार्ग कांग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतसँग अनुरोध गरेर चाँदीको कोदालोले खनेर उद्घाटन गर्नुभएको हो । राजा महेन्द्रले बनाएको होइन । त्यस बेला शुरु भएको महेन्द्र राजमार्ग शेरबहादुर देउवाको पालामा आएर सम्पन्न भयो ।’

ओलीलाई नाङ्गेझार बनाउँदै थापाले भने, ‘दिनमा २.४८ किलोमिटर बाटो बनेको छ । तर, केपी ओलीले भन्ने गर्नुभएको छ, हाम्रो विकास देखेर ठहरै ढल्के भन्नु हुन्छ, यता पनि बाटो बन्यो, उता पनि बाटो बन्यो ।’

‘३९६ वटा अस्पताल केपी ओलीले एकैदिन उद्घाटन गर्नुभयो । म स्वास्थ्य मन्त्री हुँदा मैले स्वास्थ्य मन्त्रालयमा तयार गरेर राखेको फाइल हो । त्यो फाइल ओलीले राम्रोसँग पढ्नु भएन । नेपालमा स्वास्थ्यमा समस्या भवनमा होइन, जनशक्तिको हो भनेको थिएँ । जनशक्ति बनाउन समय लाग्छ । काम गरेको देखिदैन । अस्पतालको भवन शिलान्यास गरेको देखिन्छ’, उनले भनेका छन् ।

‘शिलान्यास गरेको ३ सय अस्पतालको अत्तोपत्तो छैन । ओलीजी अरुले बनाएको बाटो शिलान्यास गर्दै हुनुहुन्छ’, उनले भनेका छन् । ओली र एमालेका हर्कतबारे नेता थापाले भने, ‘धेरै मानिसहरू मोटाएको देखिन्छ । नजिक बस्नेतले मोटाएको हो कि सुन्निएको भन्ने कुरा थाहा पाउँछ । यहाँको पात्रको बारेमा, प्रवृत्तिको बारेमा थुप्रै चर्चा गर्नुभयो । हामी टाढाबाट देख्दा मोटाएकै देख्छौँ । सुन्निएको हो भन्ने कुरा तपाईहरूले बताउनुभएको छ । यो दोष एउटा पात्रको मात्रै हो ? व्यक्तिको मात्रै वा समग्रलाई चर्चा गर्नुपर्छ भन्ने कुरा उठ्यो । राजनीतिक स्थिरता छैन भन्यौँ । ०७४ सालमा स्थिर सरकार पयौँ ।’

‘कांग्रेसले ०४८ सालपछि सम्हालेको १८/१९ महिना शासन चलाउँदा जग हालेको त्यही बेला हो । देश निर्माणमा कांग्रेसले जग बसालेको हो’, उनले भनेका छन् ।

‘गिरिजाप्रसाद कोइरालाले छाड्दै गर्दा १२ करोड राजश्व उठ्दै गर्दा १ करोड त सरकारले चलाएको उद्योगको घाटा पूरा गर्न दिनु पर्थ्यो । सबै उद्योग घाटामा थियो । ०४८ सालमा कांग्रेसले सरकार चलाउँदा त्यो तीन वर्षमा चमत्कार गरेको छ’, उनले भनेका छन् ।

‘माओवादीको द्वन्द्व र यत्रो कुराको बाबजुद पनि हाम्रो भान्सा र घरधन्दा चलेको छ भने जम्मा दुइटा कुराले चलेको छ । हाम्रा केटाकेटी बाहिर काम गर्न गएका छन्’, उनले भनेका छन् ।

‘तीनको कारणले चलेको छ । ०४८ सालदेखि ०५१ सालसम्म कांग्रेसको सरकारले त्यस बेला लिएको नीतिको कारणले चलेको छ’, उनले भनेका छन् ।

‘पार्टीभित्रको अन्तरद्वन्द्वले गर्दा हामीले अल्पआयुमा संसद र सरकार गुमायौँ । हाम्रो पनि अयोग्यता रह्यो । माओवादीले अनावश्यक द्वन्द्व ग¥यो । दरबारको महत्वकांक्षा राख्यो’, नेता थापाले भनेका छन् ।

‘०७४ सालमा नेकपा भन्ने पार्टी बन्यो । नेपालको इतिहाँसमा सबैभन्दा बढी अनुकूलता प्राप्त गरेको सरकार आजभन्दा तीन/चार वर्ष अगाडि नेपाल कम्युनिस्ट पार्टीको सरकार थियो’, उनले भनेका छन् ।

‘०७४ सालमा श्री केपी ओलीको नेतृत्वमा सरकार बन्दै गर्दा न त्यस्तो सरकार जुद्धशम्शेरको थियो । न त्यस्तोसरकार चन्द्रशम्शेरको थियो । न त्यस्तो सरकार विश्वेश्वरप्रसादको थियो । न गिरिजाप्रसादको थियो । मैले भनेको अनुकूलताको सरकार थियो’, नेता थापाले भनेका छन् ।

कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेल, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एमालेसहित विभिन्न दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Wednesday, 2021 November 3, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया