भारतीय कार्यवाहक राजदूत खप्पाद्वारा प्रदर्शनीको उद्घाटन

काठमाडौं । १५२औँ गान्धी जयन्तीको अवसरमा कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेकी छिन् ।

भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गतेसम्म खुला रहनेछ ।

नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।

भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको हो ।

शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरूको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीको उपस्थिति थियो ।

पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भएको छ ।

Published : Thursday, 2021 October 21, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया