एमालेलाई संसद छाडेर जान प्रचण्डको चेतावनी

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अनावश्यकरूपमा संसद अवरुद्ध गरिरहेको आरोप लगाएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले भने, ‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर संसद विघटनलाई जायज पुष्टि गर्ने प्रयास गरिँदैछ । त्यो सम्भव छैन ।’

अध्यक्ष दाहालले भने, ‘संसद चाहिँदैन भने छोडेर गए हुन्छ । हामी छँदैछौं ।’

एमालेका नेता रामबहादुर थापाले अध्यक्ष दाहालसँग चुनाव लड्ने कुरा गर्नुभएको छ नि ? भन्ने प्रश्नमा प्रचण्डले भने ‘म तल्लोस्तरको विषयमा टिप्पणी गर्नै चाहन्न ।’

नेपाली कांग्रेस अब चितवनमा गठबन्धनमा नजाने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने ‘गठबन्धन बनाएर नलड्ने स्वतन्त्रता सबैलाई छ ।’

‘मलाई लाग्छ गठबन्धन हामीले जुन परिस्थितिमा बनायौं । यो गठबन्धनलाई यहाँसम्म ल्यायौं’, उनले भने, ‘गठबन्धन भएर जान्छ । चितवन जस्तो जिल्लामा अझ बढी हामी समझदारीका साथ जान्छौं । मलाई विश्वास छ ।’

दाहालले एमसीसी अहिलेकै अवस्थामा नभई दलीय सहमतिमा परिमार्जनसहित पारित हुने बताएका छन् ।

कोभिड–१९ विरूद्धको खोप व्यवस्था गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको दाहालले बताएका छन् ।

उनले जनतालाई राहत, विकास निर्माण, शिक्षामा सुधार, थाति रहेका विधेयक अघि बढाउनेलगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् ।

अहिले चितवनले विकासमा नयाँ फड्को मारेको बताउँदै अध्यक्ष दाहालले छिटै भरतपुर विमानस्थल विस्तार हुने बताएका छन् ।

Published : Saturday, 2021 October 9, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया