गृहमन्त्री खाणद्वारा प्रहरी मुख्यालयको निरीक्षण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

आइतबार निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।

निरीक्षण पश्चात गृहमन्त्री खाणले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघिय प्रहरी ईकाइ कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाणले प्रहरी र सरकार एउटै सिक्काका दुई वटापाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताए ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले निर्देशन दिएका छन् ।

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरूले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँहरूमा आमनागरिक तथा जनप्रतिनिधिहरूबाट प्रहरी कार्यालयहरूको स्थापना, स्तरवृद्धि, आधुनिकीकरणको माग एवम् सुझाव आएको उल्लेख गर्दै गृहमन्त्री खाणले सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका, दायित्वको लागि नेपाल सरकार पूर्ण सकारात्मक रुपमा अगाडि बढेको बताए ।

प्रहरीको कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामग्री उपलब्ध गराउने एवम् आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकप्रति खाणले सम्मान व्यक्त गरेका छन् ।

सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको गृहमन्त्री खाणले बताएका छन् । उनले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सह्रानीय रहेको बताएका छन् ।

उनले मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्ने र आमनागरिकहरूसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालना मार्फत नागरिक रक्षा, सुखी राष्ट्र निर्माण एवम् नागरिकको जीवन रक्षाको लागि प्रहरी सदैव दृढ संकल्पित रहेको उल्लेख गरेको छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्री खाणबाट भएको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए ।

क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको साथै कालोवजारी नियन्त्रण तथा विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए ।

गृहमन्त्री खाण समक्ष प्रहरी नयाव महानिरीक्षक ईश्वर बाबु कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

Published : Sunday, 2021 August 15, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया