कांग्रेसका युवाहरूलाई ऋण दिलाएर व्यवसायमा संलग्न गराउँछौँः इन्द्र बानियाँ

काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसका बेरोजगार युवाहरूलाई रोजगारीमा संलग्न बनाउन पार्टीले विशेष पहल गर्ने बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार ः दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा ‘गरिखाने कांग्रेस’ बन्ने बनाउने अभियानको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले गाउँका युवाहरूलाई व्यापार व्यवसायमा लाग्नका लागि सहजीकरण गरिने बताए ।

उनले भने, ‘कांग्रेस बलियो बनाउन गाउँका बेरोजगार युवाहरूलाई विभिन्न पेशा व्यवसायमा लगाउनुपर्छ । बैंकहरूसँग समन्वय गरेर उनीहरूको क्षमता र योग्यताअनुसारको ऋण दिन लगाएर आर्थिक रुपले समक्ष बनाउनुपर्छ ।’

नेता बानियाँले सबै जिल्लामा समितिको कार्यालय स्थापना गरेर व्यापार व्यवसाय गर्न चाहने युवाहरूलाई कांग्रेसको सिफारिसमा फारमहरू संकलन गरेर बैंकमा बुझाइदिएर सहुलियतमा ऋण उपब्ध गराइदिने बताए । ऋणका लागि समन्वय गरिदिने बताएका बानियाँले ऋण लिएर व्यापार व्यवसाय गर्नेहरूको पनि कांग्रेसले अनुगमन गर्ने बताएका छन् ।

कार्यक्रममा काठमाडौं उपत्यकामा उपस्थित रहेका नेपाली कांग्रेसका ३० जिल्लाका सभापतिहरूको उपस्थिति रहेको थियो ।

समितिका सह–संयोजक एवम् स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, समितिका संयोजक विनोद चौधरी, सह–संयोजक बानियाँ, सह–संयोजक दीपक खड्का, समितिको लम्बिनी प्रदेशका संयोजक विमल ढकाल, सदस्य सचिव योगराज कँडेललगायतको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 August 14, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया