मगरको समूहद्वारा एनआरएनए–युके कब्जा, लण्डनमा बबण्डर
लन्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए युके)को अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन् ।
एनआरएनए युकेको नयाँ नेतृत्वका लागि पहिलो पटक अनलाइन माध्यमबाट मतदान गरिएको थियो । मतदान मंगलबार (३ अगष्ट) दिउँसो १२ बजे सकिएको थियो । मतदान सम्पन्न भएको चार दिनपछि शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको छ । नतिजाअनुसार अध्यक्ष मगरको समूहले एनआरएनए–युकेलाई पूरै कब्जा गरेको छ ।
निर्वाचन कमिटीले शुक्रबार मध्यरातबाट मतदान शुरु गरेको थियो । नतिजा घोषणा शनिबार बिहान २:३० बजे भएको थियो ।
निर्वाचन कमिटीका अनुसार अध्यक्षमा निर्वाचित मगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रत्यासीद्वय दीपक श्रेष्ठले २,१९१ र रोजिना प्रधान राईले २,१४८ मत मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सुनिलबाबु खड्का, नारायण कँडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन । महासचिवमा खुसी लिम्बु, सचिवद्वयमा ज्ञानेन्द्रबहादुर आले र विष्णु चालिसे निर्वाचित भएका छन् ।
युवा संयोजकमा तीर्थबहादुर मल्ल ‘अनिल’ निर्वाचित भएका छन् । महिला संयोजकमा विमला लिम्बु निर्वाचित भएकी छिन् ।
इंगल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर गुरुङ र उपाध्यक्षमा भक्त दर्जी निर्वाचित भएका छन् । स्कटल्याण्ड राज्य परिषदको अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन् ।
नर्दर्न आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । वेल्स राज्य समितिको अध्यक्षमा कृष्णप्रसाद भण्डारी र उपाध्यक्षमा अमृत घले निर्विरोध निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, कोषलेश्वर ढकाल र दिनेश घिमिरे सर्वसम्मत भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले आफूले निर्वाचनमा सुधार गरेर निष्पक्ष निर्वाचन गरेको दाबी गरेका छन् । उनले निर्वाचनका बेला आफूलाई विश्वभरिबाट विभिन्न खालका दबाब आएको बताएको युकेबाट सञ्चालित नेपाली अनलाइनहरूले समाचार लेखेका छन् । एनआरएन–युकेको निर्वाचन प्रक्रियाको विरोध गर्नेहरूको कँडेलले आलोचना गरेका छन् ।
अध्यक्ष पदमा पराजित रोजिना प्रधान राईले बुधबार राति पत्रकार सम्मेलन गरी झण्डै १ हजार फर्जी मत परेको दावी गरेकी छिन् । राईको यो आरोपपछि एनआरएन–युकेमा बबण्डर भएको छ ।
एनआरएनए युकेका ११ हजार बढी मतदातामध्ये कतिले मत खसाले भन्ने निर्वाचन समितिले खुलाएको छैन ।
राईले २ हजार १ सय मत रद्द गरी बाँकी मत मात्रै गणना गर्ने भनेपछि निर्वाचित अध्यक्ष मगरको समूहले त्यसको कडा विरोध गरेको छ ।
उपाध्यक्षका प्रत्यासी नारायण कँडेलले मतहरूलाई भेरिफिकेसनका चार वटा चरण पार गरेर पञ्जीकृत सदस्यहरूको सूची ब्रिटिश कम्पनीलाई पठाइएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया