वीरमा उत्पात मच्चाएका ओली समर्थक डा.जागेश्वर गौतम हटाइए

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई खुसी पारेर आकर्षक पदमा सुरुवा भएका डा.जागेश्वर गौतमलाई सरकारले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पठाइदिएको छ ।

डा.गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएर सरकारले प्रसुति गृह थापाथली पठाइदिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको राज्यमन्त्रीस्तरीय निर्णयबाट डा.गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको हो ।

प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएकै दिनदेखि डा.गौतम विवादमा परेका थिए ।

अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा डा.गौतम विवादमा आएका थिए ।

अस्पतालका कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि डा.गौतममाथि लागेको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले डा.गौतमलाई जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएका थिए ।

उता, सरकारले भरतपुर अस्पतालका डा.रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त गरेको छ ।

डा.मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त गरिएको हो । डा.मरासिनी चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट थिए । उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए ।

Published : Monday, 2021 August 2, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया