दार्चुला घटनामा कांग्रेसको चित्त दुख्यो, भारतीय पक्षसँग सम्वाद गरेर न्याय दिलाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको छ ।’

‘नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ’, शर्माले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु ।’

‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

तुइनबाट तर्ने क्रममा भारतीय अर्ध सुरक्षा बल एसएसबीले तुइन काटिदिएका कारण नेपाल युवक महाकाली नदीमा बगेर बेपत्ता समाचार आएपछि कांग्रेसका प्रवक्त शर्माले सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् । उनले दोषीलाई कारबाहीको माग पनि गरेका छन् ।

Published : Saturday, 2021 July 31, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया