निर्वाचन आयोग पुगे कांग्रेसका नेताहरू, नामावली दर्तामा सहजीकरण गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगसँग मतदातालाई सहजीकरण गरेर नामावली दर्तामा सहयोग गर्न आग्रह गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरू शुक्रबार आयोगमा पुगेर आफू बसेकै जिल्लाबाट नाम अद्यावधिक गर्न सहयोग गरिदिन आयोगसँग आग्रह गरेका हुन् । आयोगले कांग्रेसका नेताहरूको मागका विषयमा छलफल गरेर सक्दो सहयोग गर्ने आश्वासन दिएको नेता खतिवडाले बताएका छन् ।
‘कोरोना महामारीको संक्रमण दिन प्रतिदिन व्यापकरुपमा बढ्दै गएको तथा वर्षातको कारणले समेत ठाउँ–ठाउँमा बाढीपहिरो गई बाटोहरू अबरुद्ध भएको तथा अन्य विविध कारणहरूले गर्दा जिल्लामा उपस्थित भई फोटोसहितको मतदाता नामावली संकलन गर्न तथा अद्यावधिक गर्ने कार्य गर्न धेरै कठिनाइ हुने व्यहारोरा सबैमा अवगत छ’, आयोगलाई दिइएको पत्रमा उल्लेख छ ।
कांग्रेस नेताहरूले भनेका छन्, ‘नेपाली नागरिक जुन जिल्लामा छन् सोही जिल्लाबाट आफ्नो नागरिकता भएको जिल्लामा नाम लेखी आफ्नो मतदान केन्द्रमा नामावली दर्ता गर्न सकिने, त्रुटि सच्याउने तथा अद्यावधिक गर्न सकिने व्यवस्था गर्न अनुरोध गर्दछौँ ।’
कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, पूर्वसांसद रामहरि खतिवडा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’सहितका नेताहरू आयोगमा पुगेर पत्र बुझाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया