प्रचण्डले यसरी उदाङ्गो गरिदिए ओली र एमालेको गोहीवाला कालो अनुहार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका नेताहरूलाई गोहीको आँशु नचुहाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा आइतबार भाग लिँदै दाहालले एमालेका नेताहरूले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नलाग्न सुझाव दिए ।

दाहालले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको बताएका छन् ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिप्रति दाहालले गोहीको आँशु भनेर टिप्पणी गरेका हुन् ।

‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’, दाहालको एमालेलाई प्रश्न थियो ।

अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको उनले बताएका छन् । दाहालले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए ।

‘कोभित्र लोकतान्त्रिक चरित्र छ ? कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ’, उनले भनेका छन् ।

झण्डै दुईतिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको दाहालले बताएका छन् । उनले दुईतिहाइको प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताए ।

‘दुईतिहाइको प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको हो’, उनले भने, ‘यस्तो दुर्दशा यति छिटो देख्नुपर्ने भए किन गठबन्धन र किन पार्टी एकताको प्रस्ताव लान्थे होला । योबीचका घटनाक्रम उचित लागिरहेको छैन ।’

दाहालले प्रधानमन्त्री नियुक्ति प्रक्रियाभित्र केही अस्वाभाविक परिघटना भएको उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । त्यो आफैंमा पटक–पटक हुने कुरा थिएन’, दाहालले भने, ‘शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो ।’

निवर्तमान प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले संसदमा बोल्ने अपेक्षा राखे पनि त्यो नभएकोमा दाहालले आपत्ति जनाए ।

‘आज प्रमुख सचेतकले सोधे । ओलीजी आउनुहुन्छ, बोल्नुहुन्छ भन्ने सोधे । यो सदनले केपीजीको मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो’, उनले भनेका छन् ।

‘देशले पनि निवर्तनमान प्रधानमन्त्रीले बोलेको सुन्न चाहेको थियो । यो अलिअलि अस्वाभाविक जस्तो’, दाहालले भने, ‘यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो भन्ने कुरामा पनि ।’

एमालेका सांसद प्रदीप ज्ञवालीले माओवादीमाथि प्रहार गरेपछि दाहालले जवाफ दिएका हुन् ।

Published : Sunday, 2021 July 18, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया