देउवाले यसरी मागे विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिन अपील गरेका छन् । देउवाले सबै सांसदहरूलाई विश्वासको मत दिन अनुरोध गरेका छन् ।
विश्वासको मत लिन आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले विश्वासको मत मागेका हुन् ।
‘म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु’, देउवाले भने, ‘सबै माननीय सदस्यहरूले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।’
‘पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो’, उनले भने, ‘नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय केपी ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो ।’
उनले भने, ‘केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ ।’
‘मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरू, माननीय सदस्यहरू लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु’, देउवाले भनेका छन् ।
देउवाले भने, ‘अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
‘अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ’, देउवाले भने, ‘सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु ।’
उनले भने, ‘संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशील बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ ।’
‘यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ’, प्रधानमन्त्री देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया