तरुण दलद्वारा सर्वोच्चका न्यायमूर्तिहरूको प्रशंसा

काठमाडौं । नेपाल तरुण दलले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संविधान र लोकतन्त्र सहि बाटोमा गएको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेससहित ५ दलीय गठबन्धनको मागअनुसार अदालतबाट फैसला भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

‘नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर सम्मानित अदालतले गरेको फैसलाको नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक स्वागत गर्दछ’, बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सर्वोच्च अदालतको यो फैसलाले एकपटकफेरि संविधान र लोकतन्त्रलाई सहि बाटोमा ल्याई पुर्‍याएको छ’, उनले भनेका छन् ।

‘अब निर्माण हुने सरकारबाट यस्ता संविधान र लोकतन्त्र विरोधी गतिविधि नहोउन भन्ने अपेक्षा गर्दछौं’, बस्नेतले भनेका छन् ।

‘आजको फैसलाले न्यायालय र न्यायमूर्तिप्रति थप विश्वास पैदा गरेको छ’, तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘संविधान र लोकतन्त्र रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, दलका भातृ र शुभेच्छुक संस्थाहरू, सबै कानून व्यवसायीहरू, नागरिक आन्दोलनका अगुवाहरू र स्वतन्त्र सञ्चार माध्यमहरूलाई नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट हार्दिक आभार एवं बधाई ज्ञापन गर्दछौं ।’

अध्यक्ष बस्नेतले भनेका छन्, ‘अब बन्ने सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई कोभिड–१९ कोरोना भाईरसको महामारीबाट सुरक्षित ढंगबाट बचाउनको लागि जति सक्दो चाडो सबै नेपालीलाई खोपको प्रबन्ध गराउन र फेरी पनि आउन सक्ने महामारीलाई मध्यनजर गर्दै पर्याप्त मात्रामा अक्सिजन, भेण्टीलेटर लगायत सम्पुर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नको लागि आग्रह गर्दछौं ।’

Published : Monday, 2021 July 12, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया