मेलम्ची–हेलम्बुलाई काठमाडौं र काभ्रेबाट लाखौँ रुपियाँ सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ ।

यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

मेलम्चीले काठमाडौंलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको शाक्यले बताए ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०/१० लाख रुपियाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।

काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई तीन लाख तीन हजार तीन सय ३३ रुपियाँ सहयोग गर्ने मेयर टीपी तिमिल्सिनाले बताए ।

सहयोग रकम र खाद्यान्नसहित राहत बिहीबार मेलम्ची पुगेर हस्तान्तरण गरेको तिमिल्सिनाले जानकारी दिए ।

Published : Thursday, 2021 June 17, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया