कांग्रेस नेता जोशीको आर्यघाटमा अन्त्येष्टि, भावुक बने देउवा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व.नवीन्द्रराज जोशीको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

शनिबार स्व.जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

स्व.जोशीलाई दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागबत्ती दिएका छन् ।

अन्त्येष्टिपूर्व जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

स्व.जोशीको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए । श्रद्धाञ्जलि दिने क्रममा सभापति देउवा भावुक बनेका थिए ।

मस्तिष्कघातका कारण शुक्रबार राति जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय पूर्णबहादुर खड्का, डा.शशांक कोइराला, सह–महामन्त्री डा.प्रकाशशरण महतसहितका नेता कार्यकर्ताहरूले स्व.जोशीलाई श्रद्धाञ्जलि दिएका थिए ।

स्व.जोशीको शवलाई श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाल, एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

Published : Saturday, 2021 March 27, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया