पत्रकार महासंघको अध्यक्षमा पोखरेलको उम्मेदवारी दर्ता, मतदान गर्न सबैसँग अपील

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

महासंघको केन्द्रीय कार्यालय सिनामंगल, काठमाडौंमा शनिबार पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलले उम्मेदवारी दर्ता गराएपछि सम्वाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सबैलाई मतदान गर्न अपील गरेका छन् ।

‘मेरो उम्मेदवारी देशभरिका श्रमजीवी पत्रकारहरूको पक्षमा हो’, उनले भने, ‘मसहित हाम्रो टिमका उम्मेदवारहरूलाई मतदान गर्न अपील गर्छु । देशभरिका पत्रकार मतदाताहरूले दिएको एक–एक भोटको ठूलो महत्व छ ।’

नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले पोखरेललाई अध्यक्षमा टिकट दिएर उम्मेदवार बनाएको छ ।

पोखरेल यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय पोखरेलको उम्मेवारीले देशभरिका पत्रकारहरूमा उत्साह थपिएको चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ ।

पोखरेलले महासंघको अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि कम्युनिस्टहरूलाई तनाव बढेको टिप्पणी हुन थालेको छ । कम्युनिस्टहरूभन्दा पोखरेल पत्रकारितामा लोकप्रिय मानिन्छन् ।

Published : Saturday, 2021 March 27, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया