कांग्रेसद्वारा शुक्लाफाँटा घेराउ, साढे तीन करोडको खर्च मागेपछि भागाभाग

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा क्वारेन्टिन र आइसोलेसनका नाममा भएको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने माग गरेर नेपाली कांग्रेसले घेराउ तथा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्य समितिले क्वारेन्टिन र आइसोलेसनमा अस्वभाविक खर्च विवरण देखाइएको भन्दै बिल भरपाइ देखाउन मागसहित आइतबार प्रदर्शन गरेको कांग्रेस नेता धौलसिंह महराले जानकारी दिएका छन् ।

शुक्लाफाँटा नगरपालिकामा मेयर नेपाली कांग्रेसले जितेको छ । तर, नगरपालिकामा बहुमत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रहेको छ ।

कांग्रेसका कार्यकर्ताले क्वारेन्टाइनमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

उनीहरूले खर्चको हिसाब सार्वजनिक गर्न माग गर्दै शुक्लाफाँटा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

क्वारेन्टिन र आइसोलेसनमा तीन करोड ३२ लाख रुपियाँ खर्च भएको भन्दै नगरपालिकाले जानकारी दिएपछि कांग्रेस रिसाएको छ । कांग्रेसले क्वारेन्टिन र आइसोलनमा ३ करोड ३२ लाख खर्च हुने गरेर कुनै पनि गतिविधि तथा काम नभएको जनाएको छ ।

कांग्रेसले बिल भर्पाइ, गाई व्यवस्थापनमा भएको खर्च र राहत वितरणमा भएको खर्चको विवरण मागेको छ ।

कांग्रेस नेता महराले मेयर दिलबहादुर ऐरसँग खर्च विवरण माग गरेको बताए । आफूहरूलाई दिइएको खर्च विवरणको हिसाव अपुरो रहेको उनले बताएका छन् ।

नगरपालिकामा व्यापक अनियमियता बढेको र नगरपालिकाले इन्धन वितरणमा समेत अनियमितता गरेको कांग्रेसका नगरस्तरीय अनुगमन समितिका सदस्य वीरबहादुर बोहराले बताएका छन् ।

उनले विकास निर्माणका कार्यमा पक्षपात भएको आरोप लगाउँदै नगरपालिका कार्यालयमा ज्ञापनपत्र दिँदासमेत सुनवाइ हुन नसकेको बताए ।

Published : Sunday, 2020 September 6, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया