मानेभञ्ज्याङका १८० जनाको स्वाब संकलन, कांग्रेस नेता खतिवडाले पनि दिए स्वाब

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका तथा सुनकोशी गाउँपालिकाका १८० जनाको स्वाब संकलन गरिएको छ ।

कांग्रेस नेता खतिवडाको विशेष पहलमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीसहितको आपतकालीन बैठक राखेर बिहीबार १८० जनाको स्वाब संकलन गरेर नमूना परीक्षणका लागि प्रदेश १ मा पठाइएको हो ।

खतिवडाले मानेभञ्ज्याङमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि समुदायमा नफैलियोस् भनेर पूर्वसर्तकताका लागि स्वाब संकलन गर्न लगाएका हुन् ।

बुधबार मानेभञ्ज्याङमा ४ जना नेपाल प्रहरी र १ जना महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जन–समुदायमा त्रास फैलिएको छ ।

जनमानसमा देखिएको त्रासलाई ध्यान दिएर जिल्लामा आपतकालीन बैठक राखेर संक्रमित क्षेत्रलाई सिल गरि बिहीबार मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकाका ४ जनासहित १८० जनाको स्वाब सकलन गरि परीक्षणको लागि पठाइएको कांग्रेस नेता खतिवडाका निजी सहयोगी हुकुम राईले जानकारी दिए ।

कांग्रेस नेता खतिवडा केही दिनदेखि ओखलढुंगाको मानेभञ्ज्याङमा रहेका छन् । आफू यहि क्षेत्रमा रहिरहेकाले पनि आफ्नो पनि कोरोना परीक्षण गर्न आवश्यक भएकाले स्वाब दिएर परीक्षणका लागि पठाएको सहयोगी राईले बताए ।

Published : Thursday, 2020 September 3, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया