मल काण्डमा परेका मन्त्री भुसाललाई प्रचण्डका घरबेटीको बचाउ गर्न भ्याइनभ्याइ
काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुसालले समयमा मल ल्याउन नसक्ने ठेकेदार कम्पनीहरूको बचाउ गरेका छन् ।
बुधबार काठमाडौंबाट प्रकाशित एउटा राष्ट्रिय दैनिकसँगको अन्तर्वार्तामा मन्त्री भुसालले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको शैलुङ र होनिको ठेकेदार कम्पनीको बचाउ गरेका हुन् । ठेक्का लिएर समयमा मल ल्याउन नसक्ने शैलुङ र होनिकोलाई कारबाही गर्नेभन्दा पनि उन्मुक्ति दिने गरेर मन्त्री भुसालले अभिव्यक्ति दिएका छन् ।
‘कोलकातादेखि वीरगञ्जसम्म ४–५ दिनको फरकमा आउने ट्रेन हिजोआज साढे २ दिनमा आइरहेका छन्’, उनले भने, ‘कोलकाताको महावाणिज्य दूतावास, हामी र यहाँको ठेकेदार निरन्तर लागिपरिरहेका छौं । हिजोआज अलि चाँडै मल आउन थालेको छ । किसान एकैपटक मल लिन आए । मागभन्दा बढी पूर्ति गर्न नसक्दा यो भीड देखा परेको छ ।’
‘असारभित्र करिब १ लाख टन मलका लागि बन्दोबस्त भएको थियो । साढे ३ लाख टन आउनुपथ्र्यो’, उनले भने, ‘टेन्डर शुरु भएसँगै कोभिड–१९ पनि शुरु भयो । मल कारखाना, जहाज, बन्दरगाह बन्द भए । प्रतीतपत्र (एलसी) खोलिदिने बैंकहरू बन्द भए । सम्झौता भएपछि मल आउँछ भन्ने लाग्यो । अब ठेकेदारले ल्याउँछन् भन्ने सोचेका थियौं । ठेकेदारहरूले त्यो अपेक्षा पूरा गरिदिएनन् ।’
‘बोलकबोलमा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीसँग ठेक्का सम्झौता गर्नु भन्ने हाम्रो कानूनी व्यवस्था छ’, मन्त्री भुसालले भने, ‘शैलुङ र होनिको भन्ने दुई कम्पनीले कम कबोल गरे । नेपाली कम्पनी हुन्, ल्याउलान् भन्ने लागेको थियो, ल्याइदिएनन् ।’
प्रचण्डका घरबेटी शारदा अधिकारीको बचाउ गर्दै मन्त्री भुसालले भदौ २० गतेसम्म मल ल्याउने समय रहेको बताए ।
‘शारदा अधिकारी कसको घरबेटी हो या होइन भन्ने कुरा नियम, कानूनले चिन्दैन’, उनले भने, ‘साउनको शुरुमै मल ल्याउने आश्वासन शैलुङ र होनिकोले दिएका हुन् । उनीहरूलाई मल ल्याउन दिएको समय भदौ २० गतेसम्म छ । त्यतिबेलासम्म मैले केही भन्न मिल्दैन ।’
सम्झौताअनुसार मल समयमा ल्याउने ल्याउने छाँटकाँट नरहेको मन्त्री भुसालले बताएका छन् ।
‘मल दिने अन्तिम समय भदौ २० गते हो’, उनले भने, ‘त्यति बेलासम्म पर्खिनुपर्छ । त्यसपश्चात् जतिसुकै आलोचना भए पनि म केही कदम चाल्नेछु ।’
मन्त्री भुसालले शैलुङ र होनिकोलाई मल ल्याउने समय थप गर्न सम्भव नरहेको बताएका छन् । उनले भारतबाट मल आउन नसके बंगलादेशबाट १५ दिनपछि ल्याइने उल्लेख गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया