दार्चुलामा स्क्रब टाइफसको संक्रमण, डेङ्गुकाे जोखिम

प्रकाशचन्द्र भट्ट

दार्चुला । दार्चुला जिल्लामा स्क्रब टाईफसका बिरामी बढ्दै गएका छन् । बुधबारसम्म ११ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

मंगलबारसम्म ११ जनामा देखिएको संक्रमण बुधबार थप ३ जनामा देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एव सिनियर अहेव डम्बर दत्त भट्टले जानकारी दिए ।

जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका ११ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको उहाले बताए । यसअघि स्क्रब देखिएकामध्ये १ जनालाई धनगढी रेफर गरिएको छ ।

परजीवी जातको भुसुना (किर्ना)ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेसी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने लगायतका लक्षण देखापर्ने भट्टको भनाइ छ ।

रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उनले बताए ।

किर्नाको टोकाइबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले जानकारी दिए ।

बुधबार मात्रै एक जना डेङ्गुका बिरामी फेला परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का एक पुरुषमा डेङ्गु देखिएको अस्पतालका सूचना अधिकारी एवं सिनियर अहेव डम्बर दत्त भट्टले बताए ।

तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउन यता तीन जनामा देखिएको उनले जानकारी दिए ।

उनका अनुसार साउन महिनामा एक जना र भाद्र महिनामा मात्रै २ जनामा डेङ्गु देखिएको छ ।
विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ ।

गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुका बिरामी बढिरहेको उहाले बताए । डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने लक्ष्यण देखा पर्ने भट्टले बताए ।

डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी माटोले पुरी दिने, ट्याङ्कीको पानी एक हप्ताको समयमा फेरबदल गर्नुपर्ने उनले बताए ।

Published : Wednesday, 2020 September 2, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया