प्रहरी–प्रशासनले असहयोग गरेपछि जलजलाद्वारा प्रहरी भर्ना गर्दै

जलजला । पर्वत जिल्लाको जलजला गाउँपालिकाले आफ्नै प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

गाउँपालिकाले नगर प्रहरी भर्नाका लागि मंगलबार आवेदन आह्वान गरेको हो । सूचनामा प्रहरी नायव निरीक्षकको कमाण्डमा एक प्रहरी हवल्दार र एक जवानको आवेदन माग गरिएको छ ।

गाउँपालिकामा शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनको संरक्षण तथा उपयोगको लागि प्रहरीको आवश्यकता देखिएकाले नगर प्रहरी नियुक्तिको लागि आवेदन आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिए ।

‘गाउँपालिकाको काममा प्रहरी र प्रशासनबाट असहयोग भयो’, उनले भने, ‘प्राकृतिक र सरकारी सम्पत्तिको उपयोग, संरक्षणका लागि पनि आफ्नै सुरक्षा संयन्त्र आवश्यक भएकाले नगर प्रहरी नियुक्त गर्न लागेका छौँ ।’

जलजला गाउँपालिकामा ब्लक उद्योगका नाममा अबैध क्रसर उद्योग सञ्चालन गर्नेलाई कारवाहीको माग गर्दै गाउँपालिकाले किटानी जाहेरी दिँदासमेत प्रहरीले जाहेरी नलिने अवस्था भएपछि बाध्य भएर प्रहरी भर्ना गर्न लागिएको मल्लले बताए ।

जलजला गाउँपालिकाले यसअघिनै अबैध उद्योग सञ्चालन गर्नेलाई कार्वाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, प्रहरी प्रधान कार्यालयदेखि गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्मलाई पत्राचार गरेको छ ।

‘स्थानीय प्रहरी प्रशासनले गाउँपालिकालाई सहयोग गरेन’, अध्यक्ष मल्लले भने, ‘संविधानमा भएको व्यवस्थाअनुसार नगर प्रहरी गठनको प्रक्रिया अगाडि बढेको छ ।’

गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रको सार्वजनिक जग्गाको लगत संकलन गर्ने र त्यो सार्वजनिक जग्गा उपयोग गरेवापत निश्चित कर लिएर गाउँपालिकाको आर्थिक पक्षलाई बलियो बनाउने रणनीति समेत अघि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिएका छन् ।

नदीजन्य पदार्थको बिक्रीबाट समेत गतवर्षको भन्दा दोब्बर राजश्व वृद्धि गरि गाउँपालिकाको आन्तरिक आयलाई आगामी वर्ष पाँच करोड पुर्‍याउने लक्ष्य गाउँपालिकाको छ ।

प्राकृतिक श्रोत साधन र नदीजन्य पदार्थको बिक्री वितरणसम्बन्धि कार्यविधिलाई लिएर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जलजला गाउँपालिकाको बीचमा लामो समयदेखि मतभेद देखिदै आएको छ ।

गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रहरी प्रशासनले अनावश्यक हस्तक्षेप गरेको तथा समन्वय बिना काम गरेको आरोप लगाउँदै आएको छ ।

जलजला गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । पर्वत कांग्रेसका युवा नेता समेत रहेका गाउँपालिकामा अध्यक्ष मल्लले जनताको भावनाअनुसार सेवा दिँदै आएका छन् ।

Published : Wednesday, 2020 August 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया