सत्तरी करोड घूस काण्डका गोकुल बास्कोटालाई यसरी दिइँदैछ उन्मुक्ति, खुसीले मनभित्र लड्डु फुट्याे

काठमाडौं । ७० करोड घूस प्रकरणमा नेकपाका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटालाई उन्मुक्ति दिने तयारी भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बास्कोटालाई ७० करोड रुपैयाँ घूस काण्डमा सफाइ दिने तयारी गरेको हो ।

बाँस्कोटाले घूस लिएरखाएको प्रमाणित नहुने भन्दै अख्तियार उजुरीलाई तामेलीमा पठाउने निर्णय गर्न लागेको उच्च स्रोतले जनाएको छ ।

अख्तियारका पदाधिकारीको बैठक बस्न सम्भव नभएर तामेलीको निर्णय भइसकेको छैन ।

तीन सातापछि अवकाश पाउन लागेका अख्तियार प्रमुख नवीनकुमार घिमिरे हाल बिदामा छन् । आयुक्त गणेशराज जोशीले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

बयान दिनुपर्ने एक जना मान्छे विदेशमा छन् भन्ने बहानामा फाइल रोकिएको भन्दै अनुकूल समयमा गुपचुप तामेलीमा पठाउने तयारी भएको कान्तिपुर दैनिकले खुलासा गरेको छ ।

आयोगले उजुरीलाई कारणसहितको पर्चा खडा गरी तामेलीमा राख्न सक्नेछ भन्ने व्यवस्था गर्न लागेको छ । बाँस्कोटाको अडियो प्रकरणमा पनि उनलाई मुद्दा चलाउने गरी प्रमाण नभेटिएको निष्कर्षमा अख्तियार पुगेको छ ।

अनुसन्धान अधिकृतले पूर्वमन्त्री बाँस्कोटाले घूस लिएको वा लिने प्रयास गरेको भन्ने आरोप पुष्टि नहुने भनी प्रतिवेदन तयार गरिसकेको सूचना लिक भएपछि बास्कोटाको मनोभाव बदलिएको र उत्साह बढेको अख्तियारले जनाएको कान्तिपुर दैनिकले जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दैको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले उजुरी तामेलीमा राख्ने प्रयास गरेको छ ।
घूसको मोलमोलाइका दौरान भेटिनसक्ने केही महत्त्वपूर्ण प्रमाणबारे अनुसन्धान भएको छैन ।

संसदको सार्वजनिक लेखा समितिले त्यतिबेला सेक्युरिटी प्रिन्टिङसँग सम्बन्धित प्रमाण संकलन गरेको थियो ।

अख्तियारले तोकेका अनुसन्धान अधिकृतमध्येका एक जिम्मेवारी सकिएपछि हालै सरुवा भएका छन् ।

आयोगका पदाधिकारीहरूको मनस्थितिअनुसार बाँस्कोटाबारे निर्णय गरेकाले उनलाई आकर्षक ठाउँमा सरुवा गरिएको चर्चासमेत छ ।

अख्तियारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित तत्कालीन मन्त्री बाँस्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ, सेक्युरिटी प्रेस केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध उजुरी परेको छ ।

तत्कालीन मन्त्री बाँस्कोटाको भने सोझै घूसको मोलमोलाइ गरेको अडियो टेप नै सार्वजनिक भएको थियो । अडियो टेप गर्ने सेक्युरिटी प्रिन्टिङ प्रेसका एजेन्ट विजय मिश्रसँग अख्तियारले अडियोको सनाखत गर्ने र त्यसलाई कानुनी आधार दिन सक्ने अवस्था थियो ।

कम्तीमा १५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो ।

अडियो रेकर्डमा बाँस्कोटाले कमिसनबापत ५४–५५ करोड मात्रै प्राप्त हुने भए लागतलाई एक अर्ब बढाउन आग्रह गरेका छन् ।

बाँस्कोटाले अडियोमा भनेका छन्, ‘त्यसले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।’

मन्त्रालयअन्तर्गतकै सेक्युरिटी प्रिन्टिङ सेन्टरले अघि बढाएको प्रक्रिया विवादित बनेपछि संसद्को सार्वजनिक लेखा समितिले अनुसन्धान गरिरहेका बेला अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

दुवैथरीको मोलमोलाइ ५० करोडबाट सुरु भएर एक अर्ब रुपैयाँ लागत बढाउने विषयसम्म पुगेको थियो । यो विषयमा अध्ययन थालेको संसद्को सार्वजनिक लेखा समितिले अहिलेसम्म कुनै काम गरेको छैन ।

Published : Tuesday, 2020 August 25, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया